Logo

गठबन्धनभित्र उपगठबन्धन बनाएर उपराष्ट्रपतिमा उम्मेदवारी दिनु गलतः जसपा प्रवक्ता



काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता एवं सांसद मनीषकुमार सुमनले उपराष्ट्रपतिमा आफ्नो पार्टीले रणनीतिक रुपमा दुइटा उम्मेदवारी दिएको बताएका छन् ।
‘जसपाले उपराष्ट्रपतिका रुपमा रामसहायप्रसाद यादवको नाम अघि सारेपछि एकथरीले कोकोहोलो मच्चाए । प्रमुख निर्वाचन आयुक्तबाटै संविधानको धारा १७ को अपव्याख्या भयो । प्रमुख आयुक्तले नै अन्तर्वार्ता दिँदै उपराष्ट्रपतिमा महिला उम्मेदवारी दिनुपर्छ भनेपछि हामी सशंकित भयौं । भोलि केही गडबड भइहाल्छ कि भनेर सावधानीवश हाम्रो पार्टीले दुई जनाको रणनीतिक उम्मेदवारी दिएको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सुमनले भने ।
विकल्पसहितको दुइटा उम्मेदवारी १० दलीय गठबन्धनको स्प्रिट अनुसार नै भएको उनले स्पष्टोक्ति छ । सुमनले थपे, ‘हाम्रो पार्टीभित्र कुनै अन्तर्द्वन्द्व छैन । बागी उम्मेदवारी पनि होइन । निर्वाचन कार्यालयले सुरुमा उम्मेदवारी नै लिन्नँ भनेको थियो । पछि त्यसमा निर्वाचन उजुरी पनि परेको छ । लोकतन्त्रमा सबैलाई त्यसको अधिकार छ । उम्मेदवारको नामावली आएपछि निर्धारित समयभित्रै दुइटामध्ये एउटा उम्मेदवारी फिर्ता हुनेछ ।’
नेता सुमनले जनमत पार्टीले आवेगमा आएर उपराष्ट्रपतिमा उम्मेदवारी दिएको पनि बताए । उनले भने, ‘उपराष्ट्रपति जसपाले पाउने कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच लिखित सहमति भएको कुरा हो । तर त्यो सहमति गर्दा साना दलले थाहा पाएनन् । जनमत पार्टी हाम्रो संगी पार्टी हो । १० दलीय गठबन्धनको एउटा घटक हो । मधेस प्रदेश र संघको सरकारमा समेल छ । उसले दुखेसोको आवेगमा उम्मेदवारी दिएको छ । गठबन्धनभित्र उपगठबन्धन किन बन्यो ? लोसपा र नागरिक उन्मुक्ति पार्टीले जनमतलाई किन उचाले ? मलाई थाहा छैन ।’
जनमत पार्टीले १० दलीय गठबन्धनको रक्षार्थ पनि उम्मेदवारी फिर्ता लिनुपर्ने उनले औंल्याए । सुमनले थपे, ‘तीन दलको मत जोड्दा २ हजार २५ सयभन्दा बढी मतभार छैन । उहाँहरुले जबर्जस्ती एउटा निर्वाचनमा उम्मेदवारी दिने हठ किन राख्नुभयो मलाई अलिक उदेक लागेको छ । केही कुरा भए गठबन्धनको बैठकमा छलफल गरेको भए हुन्थ्यो । प्रमुख निर्वाचन आयुक्तको कुर्सीमा बसेको व्यक्तिले नै संविधानको अपव्याख्या गरिरहेको आरोप पनि उनले लगाए । सुमनले भने, ‘मैले पढेको संविधान र तपाईंले पढेको संविधान फरक हुन्छ र ?’



प्रतिक्रिया दिनुहोस्