काठमाडौं, फागुन २९। उपराष्ट्रपति निर्वाचनको अधिकृतको कार्यालयले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेको छ ।
उपराष्ट्रपतिको सम्बन्धमा भएका संवैधानिक प्रावधान, ऐन र निर्देशिकाको अध्ययन गरी यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए । उनले राष्ट्रपति र उपराष्ट्रपति फरक लिड्ड वा समुदाय गरी दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक नभएकोले उम्मेदवारी कायम राखेको बताए ।
राष्ट्रपति खसआर्य समुदाय पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिको लागि खसआर्य समुदायबाहेक दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता हुने जिकिर गर्दै उम्मेदवार अष्टलक्ष्मी शाक्यको तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) र उम्मेदवार ममता झाले यादवविरुद्ध आइतबार उजुरी दिएका थिए । उजुरीउपर जाँचबुझ गरी कार्यालयले यादवको उम्मेदवारी बदर गर्न नपर्ने निर्णय गरेको हो । आइतबार मध्यान्ह १२ बजेसम्ममा उम्मेदवारविरुद्धको उजुरीउपर जाँचबुझ गर्ने समय तोकिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट