Logo

निवर्तमान राष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु उचित हुन्नः एमाले नेता



काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताएका छन् ।
‘राष्ट्रपति पद सेरेमोनियल हो । तर हामीले त्यसलाई ढुंगाको मूर्ति पनि बनाएनौं र कार्यकारी पनि बनाएनौं । पद भएपछि काम हुन्छ, काम भएपछि टिकाटिप्पणी हुनु स्वाभाविक हो । लोकतन्त्रमा आलोचना गर्न पाइन्छ । तर यहाँ निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा तथ्यहीन कुरामा पनि आलोचना हुने गरेका छन् । त्यसैले कसैको लहैलहैमा लागेर हो हो भन्नुपर्ने स्थिति होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पण्डितले भने ।
राष्ट्रपतिले पदीय अधिकार प्रयोग गरेको सन्दर्भमा ठिक र बेठिक भनी व्याख्या गर्ने सर्वोच्च अदालतको भएको पनि उनले औंल्याए । उनले भने, ‘कतिपय आलांकारिक कुरा परम्परागत छन् । संसद् वा अन्य सवारीमा सडक जाम सहज हुने र जनतालाई कष्ट हुने कुरा सच्चाउनु पर्छ ।’
पूर्वराष्ट्रपतिको मर्यादा र सुविधाका दृष्टिले विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने पनि उनले औंल्याए । पण्डितले भने, ‘उहाँलाई सक्रिय राजनीतिमा फर्कन संविधानले रोकेको छैन । राजनीतिमा फर्कने वा नफर्कने उहाँको व्यक्तिगत कुरा हो । पूर्वराष्टपति राजनीतिमा फर्कंदा सुरक्षामा फरक नपर्ला । तर सुविधा र मर्यादामा फरक पर्छ । नेपालको सन्दर्भमा त्यो अभ्यास उपयुक्त नहोला कि ?’
शान्ति प्रक्रियालाई लम्ब्याएर दुहुनो गाई बनाएर बाँचुन्जेल शक्तिमा बसिरहने काम माओवादी नेतृत्वले गरिरहेको आरोप पनि पण्डितले लगाए । उनले भने, ‘जनयुद्धका कतिपय अपराध देखाउँदै तर्साएर शक्ति आर्जन गर्न खोज्नु बेठिक हो । शान्ति प्रक्रियालाई लम्ब्याएर बाँचुन्जेल दुहुनो गाई बनाएर राख्ने ?’



प्रतिक्रिया दिनुहोस्