बैतडी, २९ फागुन । बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन् ।
दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम सञ्चालन गरेको हो । विशेषज्ञ सेवासहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्ठले जानकारी दिए । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो ।
यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो । यसका साथै सामान्य चेकजाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ ।
सिगासको गाँजरी स्वास्थ्यचौकीमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा सात सय ८८ जनाले सेवा लिएका छन् । उक्त शिविरमा एक ५६ जनाले हाडजोर्नी, एकसय १० जनाले भिडियो एक्सरे, एकसय ३१ जनाले नाक कान र घाँटीसम्बन्धी सेवा, ८९ जना बालबालिका र दाँतसम्बन्धी समस्या भएका ९३ जना, १२ जनाले इसिजी र तीनसय २९ जनाले सामान्य चेकजाँच सेवा लिएका छन् ।
यसअघि जिल्लाको पञ्चेश्वर गाउँपालिकामा गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय जनाले सेवा लिएका लिएका थिए । अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिक सेवा पाउँदा खुसी पनि भएका छन् ।
जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालेको हो । निकट भविष्यमै अर्को दुर्गम पालिकामा उक्त कार्यक्रम सञ्चालन हुने जिल्ला अस्पतालले जनाएको छ । रासस