तनहुँ, २९ फागुन । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो ।
योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा रू एक करोड २९ लाख र सिस्नेरीमा रू ७९ लाखको लागतमा योजना निर्माण सम्पन्न भएको हो ।
लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन सुवेदीले बताए । उनका अनुसार उक्त दुुई स्थानमा गरी करिब आठ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने छ । सिँचाइ योजनाबाट शुक्लागण्डकीमा तीन सय र भीमादका दुई सय बासिन्दा लाभान्वित हुने छन् । यहाँका बासिन्दालाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
योजनाको निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिए पनि कार्यालयबाट जाँच गरी बाँकी रकम भुक्तानी गरिने जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शर्माले बताए । उनका अनुसार सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको व्यवस्था मिलाइएको छ ।
स्थानीय क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत दुई वटा ट्याङ्कीमा पानी सङ्कलन गरी लोकेतिटारमा सिँचाइको योजना सम्पन्न गरिएको छ । उक्त क्षेत्रमा करिब चार किमी पाइप विच्छ्याएर प्लट–प्लटमा पानीको धारा जडान गरी सुचारु गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी एउटा ट्याङ्कीमा सङ्कलन गरेर सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाअन्तर्गत तीन किलोमिटर पाइप विच्छ्याइएको छ । रासस