Logo

अभिनव साहित्य समाजद्वारा प्रभातलाई अभिनन्दन



काठमाडौँ, २९ फागुन । अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु २० हजार नगदसहित अभिनन्दन गरेको छ । समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो ।

सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कार शान्ति शर्मालाई प्रदान गरिएको छ । रु १० हजार नगदसहित उनलाई सम्मानित गरिएको हो । यसैगरी, कार्यक्रममा समाजसेवी मुसुरी लामालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल र उपप्रमुख सान्नानी लामालाई बधाई, शुभकामना र अभिनन्दन पत्र प्रदान गरिएको थियो । सो अवसरमा कलाकार जानुका भट्टराई, केशवराज मैनालीलगायतले ‘बेचिएकी चेली’ नामक नाटक प्रस्तुत गरेको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परालाई तोडमरोड गर्ने कामको सुरुआत हुन थालेकाप्रति आपत्ति जनाए । तोडमोड गर्ने काम नरोकिएमा त्यसविरुद्ध लाग्न बाध्य हुने उनको भनाइ थियो ।

नगरप्रमुख रिसालले नगरपालिकालाई साहित्यको हब मनाउन क्रियाशील संस्थाका रुपमा अभिनवलाई लिएको बताए। नगरभित्र रहेका सबै साहित्यिक संस्थालाई सहयोग गरिएको उनले बताए । उपप्रमुख लामाले साहित्य उत्थानको काममा सहयोग गर्न नगरपालिका तत्पर रहेको उल्लेख गरे । महिला साहित्यकारलाई उत्प्रेरणा दिने काममा पनि नगरपालिकाले विशेष सहयोग गर्ने उनको भनाइ थियो ।

अभिनन्दित व्यक्तित्व प्रभातले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, साङ्ख्य (देवहुतिद्वारा प्रतिपादित) र बौद्ध दर्शन गरी छवटा दर्शन नेपाली भएकाले सबैको प्रवद्र्धनमा साहित्य सृजना हुनुपर्नेमा जोड दिए । समाजका अध्यक्ष वेदमणि घिमिरेले प्राज्ञताको प्रचलित मापदण्ड विपरीत प्रज्ञा–प्रतिष्ठान गठन गरेकामा सुधार हुनुपर्ने माग गरे । रासस



प्रतिक्रिया दिनुहोस्