Logo

निवर्तमान राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउने, चितवन–२ को उपनिर्वाचन लड्न एमाले नेताहरुको आग्रह



काठमाडौं, २९ फागुन । आजबाट दुई कार्यकाल सम्पन्न गरेर राष्ट्रपतिबाट विदा भएकी विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त गरेर विदा भएसँगै सक्रिय राजनीतिमा आउने चर्चा बढेको छ ।

खासगरी एमाले नेताहरुले नै भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेका छन् । राष्ट्रपतिको भूमिका रहँदापनि भण्डारीले एमालेमा एउटा शक्तिशाली गुटको नेतृत्व गरेको आरोप थियो । अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीलाई पूनः पार्टीमा सक्रिय हुन आग्रह गरिसकेको स्रोतको दाबी छ ।

एमालेले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि गृहकार्य थालेको छ । यसको लागि भण्डारीले भने अहिलेसम्म कुनै ठोस जवाफ नदिएको बुझिएको छ । कतिपयले भने उनलाई एमालेको राजनीतिमा सक्रिय हुँदै संसद्को यही कार्यकालको लागि यात्रा तय गर्न र मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्न पनि सुझाव दिएका छन् ।

नेपालको पहिलो महिला राष्ट्रपति बनेर किर्तीमानी कायम गरेकी भण्डारीलाई एमाले नेताहरुले अब मुलुककै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि गृहकार्य थालेका छन् । कतिपयले त उनलाई आगामी बैशाख २ गते चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिन पनि प्रस्ताव गरेको बुझिएको छ । खासगरी एमालेका महिला नेतृहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा सहभागी हुन जोड गरेका छन् ।

आज कार्यकाल समापनसँगै शितलनिवासबाट विदा भएर बालुवाटारस्थित् आफ्नी जेठी छोरी उषाकला भण्डारीको भाडाको घरमा सरेकी भण्डारीले भोलिबाट राजनीतिक भेटवार्ता गर्ने बताईएको छ । आजै उनको डेरामा पार्टीका नेता तथा कार्यकर्ताहरुको ठूलो पँक्ति स्वागतको लागि पुगेको थियो ।

उनी सक्रिय राजनीतिमा आउँछिन कि आउँदिनन् भन्ने कुरा भोलिको दिनले प्रष्ट नै पार्ला । तर, उनलाई सक्रिय राजनीतिमा आउन भने एमालेको ठूलो पँक्तिले दबाब सिर्जना गरेको साँचो हो । कतिपय नेताहरुले भने सार्वजनिक रुपमै भण्डारी सक्रिय राजनीतिमा आउने दाबी गरिरहेका छन् ।

file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot