Logo

एमाले नेता शेरधन राई भन्छन्– विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनैपर्छ



काठमाडौं, ३० फागुन । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईले रामचन्द्र पौडेल पर्दाभित्र र बाहिर भएका खेलहरुबाट राष्ट्रपति बनेको आरोप लगाएका छन् ।
‘जनादेशलाई शिरोधार्य गरेर राजनीति अघि बढेको छैन । राष्ट्रिय राजनीतिमा विभिन्न असामान्य, अस्वाभाविक र आकस्मिक खेलहरु भए । रामचन्द्र पौडेल विदेशीको हस्तक्षेप र संलग्नताबाट राष्ट्रपति बन्नुभएको छ । विदेशीले नेपाल आएर नेपालको राष्ट्रपति फलानो हो भन्ने बोले । ट्वीट गरे । यसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्रमाथि चुनौतीहरु बढेका छन् । उहाँले आगामी दिनमा राष्ट्रलाई अभिभावकत्व दिने कुरामा आशंका छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै राईले भने ।
निवर्तमान राष्ट्रपति विद्या भण्डारी नेकपा एमालेमा ‘कमब्याक’ हुने सम्भावना बढेको पनि उनले औंल्याए । राईले थपे, ‘उहाँ सर्वोच्च संस्थामा पुग्ने पहिलो महिला त हुनु नै भयो । सात वर्षे कार्यकालमा गर्विलो इतिहास पनि रचना गर्नुभएको छ । मुुलुकलाई वास्तविक अभिभावकत्व दिएर जनमनमा बस्न सक्नुभएको छ । उहाँ आएपछि नै राष्ट्रपति पदको महत्त्व र गरिमा बढ्यो । त्यस भूमिकाका निम्ति उहाँलाई मेरो सलाम छ । आम नेपाली जनताको आशा र अपेक्षा पूरा गर्ने सन्दर्भमा अब पनि उहाँको कुनै न कुनै सक्रिय भूमिकाको खाँचो छ ।’
पूर्व राष्ट्रपति राजनीतिमा फर्कन मिल्छ भन्ने पत्रकार धमलाको प्रश्नमा राईले भने, ‘विद्या भण्डारी एमालेको राजनीतिमा फर्कन नमिल्ने, उभिन नमिल्ने भन्ने केही छैन । बरु अन्तर्राष्ट्रिय अभ्यास के छ भन्ने बहस र छलफल हुन सक्छ । राष्ट्रलाई सक्षम नेतृत्व गरेको उहाँजस्तो व्यक्तित्व चुप लागेर टुलुटुलु हेरेर बस्न सक्नुहुन्न । त्यसैले उहाँ फेरि सक्रिय राजनीति र सक्रिय भूमिकामा आउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

 



प्रतिक्रिया दिनुहोस्