काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्माले एक व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री र तीन पटक मन्त्री हुने व्यवस्था लागु गर्न प्रस्ताव गरेका छन्।
मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले एक व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री र तीन पटक मन्त्री हुने व्यवस्था लागु गर्न प्रस्ताव गरेका हुन्।
उनले भने, ‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्याएर शपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो। डा. रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक शपथ ग्रहण गर्नुभयो। र, अहिले आएर रामचन्द्र पौडेल हुनुभयो। राजनीतिमा रुपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस्। दुई पटक प्रधानमन्त्रीको शपथग्रहण गरोस्। तीन पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस्। चार पटकसम्म सांसद बनोस्। पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस्।’