Logo

अदालतमा प्रचण्डविरुद्ध कुनै मुद्दा छैनः रामनारायण बिडारी



काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले संविधान र व्यवस्थाको विरोधका कारण पूर्वमाओवादीहरुबीच एकता हुन नसकेको बताएका छन् ।
‘हाम्रो पार्टी सरकारको नेतृत्वमा छ । तर पूर्वमाओवादीका कतिपय साथीहरु यो संविधान र प्रणालीको विरोधमा हुनुहुन्छ । त्यसैले केह॥ विषय उहाँहरुसँग छलफल गरेर टुंग्याउनुपर्ने भएकाले केही व्यवधान आएको छ । तर पूर्व माओवादीहरुबीचको एकतामा धक्का लागेको होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बिडारीले भने ।
उनले सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कुनै मुद्दा नभएको दाबी पनि गरे । बिडारीले थपे, ‘केही व्यक्तिले प्रचण्डविरुद्ध मुद्दा गरिपाऊँ भन्ने निवेदन दिएका हुन् । हिजो मेरो ल फर्ममा पनि केपी ओलीजी विरुद्ध जाहेरी दरखास्ती लेखिदिनुपर्‍यो भनेर केही मानिस आएका थिए । मुद्दा त जसले जसलाई हाले पनि भयो नि । तिनीहरु पुलिसकहाँ जान्छन्, त्यहाँ दर्ता नभए अदालत जान पुग्छन् ।’
शान्तिप्रक्रिया नटुंगिनुको जिम्मेवारी प्रचण्डले मात्र नभएर केपी शर्मा ओली, शेरबहादुर देउवा, माधव नेपाल सबैले लिनुपर्ने बिडारीले औंल्याए । उनले भने,’ हिजो प्रचण्डले मात्र युद्ध गरेको हो र ? युद्धको अर्को पक्ष पनि छ नि । माओवादी र माओवादी युद्ध भएको हो र ? सरकार र माअ‍ेवादीबीच युद्ध भएको हो नि । यसको ओली, माधव, देउवाजीले पनि जिम्मा लिनु पर्दैन र ?’
शान्तिप्रक्रिया नटुंगिनुको प्रमुख कारण नेकपा एमाले भएको आरोप पनि उनले लगाए । उनले भने, ‘एमाले सत्तामा पनि बस्ने अनि कानुन बनाउन अप्ठ्यारो पार्ने खालको पार्टी हो । एमालेका हैसियतमा गोविन्द बन्दीले के के गर्नुभयो, सबैलाई थाहा छ । उहाँले त्यसमा प्रायश्चित्त गरेर सल्टाउँछु भन्नुभएको छ । हरि फुयाल, अग्नि खरेलले महान्यायाधिवक्ता हुँदा शान्तिप्रक्रियाका नाममा ग्वामग्वाम खानुभयो ।’
ओलीले त प्रचण्डले अझै पनि धम्काइरहेको आरोप लगाउनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘माओवादी भनेको प्रचण्ड माओवादी मात्र होइन, वैद्य माओवादी, धर्मेन्द्र माओवादी पनि हो नि । प्रचण्डले धम्काउने कुरा गर्नुभएको छैन । सम्झौता कार्यान्वयन गर्न दुवै पक्ष चाहिन्छ । सरकारमा कांग्रेस र माओवादी छन् । संसदमा विधेयक गएको छ । अब दरिलो आयोग बनाएर ६ महिनाभित्र टुंगो लाग्छ । अब टुंगिएन भने कोही बच्ने वाला छैन ।’
गठबन्धन दलहरुभित्र मन्त्रालयका निम्ति कुनै झगडा नभएको दाबी पनि उनले गरे । बिडारीले भने, ‘एउटै पार्टीको सरकार बन्दा त विवाद हुन्छ भने नौ दलको बन्दा विवाद हुनु सामान्य हो । यसमा खासै विवाद छैन । मिडियाले कला देखाएको मात्र हो । जनता अलिकता अलमलिएलान् तर दल र सरकार अलमलिँदैनन् ।’ रवि लामिछानेबाहेक स्वतन्त्र पार्टीका अरु सांसदलाई सरकारमा जान कसैले नछेकेको पनि उनले बताए ।
वरिष्ठ अधिवक्तासमेत रहेका बिडारीले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चलाउन खोज्नु गलत भएको पनि औंल्याए । उनले भने, ‘प्रधानन्यायाधीश सधैं अस्थायी भयो । त्यो गलत हो । अब संवैधानिक परिषद् ऐनलाई प्रतिस्थापित गरेर कन्फर्म गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot