Logo

मन्त्रीकै जिल्ला र पार्टीले गर्‍यो बाँदर नियन्त्रण गर्न माग, नगरे आफैले नेतृत्व गर्ने



काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) भोजपुरले बाँदर नियन्त्रण गर्न माग गरेको छ।

माओवादी केन्द्रको भोजपुर जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रीको कार्यालय र कृषि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै बाँदरको आतंकका कारण किसानहरु गाउँबाट नै पलायन हुनुपर्ने बताउँदै सरकारी तवरबाट नियन्त्रण गर्नुपर्ने माग राखेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘भोजपुरे किसानहरूले हैरानी खेप्दै आउनु परेको यथार्थ कहिबाट छिपेको छैन। जुनसुकै बाली उठाउन, घरमा थन्क्याउन त परको कुरा बढ्न, फल्न र पाक्न समेत नपाउँदै मुख्यगरी बाँदरले नष्ट गरिदिने, खाइदिने यतिमात्र नभई घर दलानमा लगाएको मकैको थाक्राबाट झिकेर खाइदिने, घरभित्र पकाएर राखिएको भातको भाडा बोकेर लगिदिने, घरपालुवा चौपाया माथि करणी गर्ने, वृद्ध अशक्त एवम् बालबालिकालाई भौतिक आक्रमण समेत गर्ने जस्ता घटनाले सम्पूर्ण किसानहरू आतंकित बन्नु परेको छ।’

‘बाँदर आतंकको कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरू पलायन हुने संख्या दिनानु दिन बढिरहेको छ तसर्थ राज्यले गम्भिरतापूर्वक विकराल समस्या समाधान गर्ने उपायको खोजी गरी किसानलाई प्रोत्साहन नगर्ने हो भने कुनै पनि गाउँ मानव वस्ति विहीन हुने कुरा निश्चित छ। त्यसैले आम किसानहरूको समस्यालाई मध्यनजर गरी तत्काल बाँदर नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं साथै सरकारी तवरबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसानहरू बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्न समेत बाध्य हुने र सो अभियानको नेतृत्व गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुर तयार रहेको समेत सम्बन्धित सबैलाई जानकारी गराउँदै यो ज्ञापन पत्र पेश गरिएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै, भोजपुरको प्रतिनिधित्व गर्दै माओवादी केन्द्रको तर्फबाट हाल संघीय सरकारमा पर्यटक, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयमा मन्त्री सुदन किराँती रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot