काठमाडौं, १ चैत्र । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले स्ववियु निर्वाचन-२०७९ को लागि आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा स्ववियुलाई आमविद्यार्थीहरुको साझा संस्था बनाईने, विश्वविद्यालय र क्याम्पसमा हुने राजनीतिक भागबण्डाको अन्त्य गरिने प्रतिबद्धता जनाईएको छ ।
काठमाडौंमा आज (बुधबार) पत्रकार सम्मेलन गरेर संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा उल्लेख गरिएअनुसार स्ववियुलाई सेवकका रुपमा विद्यार्थीको सेवामा समर्पित बनाईने, क्याम्पसको आर्थिक हिसाब हरेक वर्ष सार्वजनिक गराईनेलगायतका प्रतिबद्धता जनाईएको छ ।
‘मिसन स्ववियु, भिजन २४ आगामी २ वर्ष अनेरास्ववियूको नेतृत्व’ मूल नारा दिईएको घोषणापत्रमा राज्यको कूल बजेटको कम्तिमा २० प्रतशित बजेट शिक्षा क्षेत्रका लागि व्यवस्था गरिनुपर्ने, शिक्षामा व्याप्त निजीकरण र व्यापारीकरणको पूर्ण अन्त्य गरिनुपर्नेलगायतका विश्वविद्यालय सुधारका शैक्षिक एजेण्डा समेटिएका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम