Logo

प्रधानमन्त्री प्रचण्डको बोल्ड डिसिजन, मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक



काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएका छन् । प्रधानमन्त्री दाहालकै निर्देशनअनुसार सरकारले यस्तो निर्णय लिएको हो ।

हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाउने निर्णय लिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।

सरकारले यस्तो निर्णय लिएपनि मन्त्री र कर्मचारीहरु भने अत्यावश्यक काम देखाएर विदेश भ्रमण जाने क्रम रोकिएको छैन् । यसपटक प्रधानमन्त्री दाहालले कत्तिको आफ्नो निर्णय कार्यान्वयन गराउँछन् त्यो हेर्न बाँकी छ ।

यस्तै, सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्री शर्माले जानकारी दिईन् ।

सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो ।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot