Logo

राजस्व संकलनको अवस्था कमजोर



काठमाडौं, चैत २ । पछिल्लो समय चौथर्फी मुलुकको आर्थिक सूचक कमजोर भइरहेसँगै चालू आर्थिक वर्ष २०७९/८० को बितेका आठ महिनाको अवधिमा सरकारको बजेट घाटा चुलिएर १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।

गत फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोडबराबर बजेट खर्च गर्दा राजस्व संकलन भने जम्मा ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख रुपैयाँ मात्र छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका आठ महिना गत फागुन मसान्तसम्मको राजस्व संकलन र बजेट खर्च विवरणअनुसार यस्तो अवस्था देखिएको हो ।

यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । समीक्षा अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२ दशमलव ७ प्रतिशत रहेको छ । बजेट खर्च भने जम्मा ४३ दशमलव ४४ प्रतिशत मात्र छ ।

चालू आवका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । तर, यसअघि पनि लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत सरकारले चालू आवका लागि विनियोजित बजेटको आकार १४ प्रतिशत (२ खर्ब ४४ अर्ब रुपैयाँ)ले घटाएर कुल १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झारेको छ ।

चालू आव सुरु हुनेबेलामा विनियोजित बजेटको तुलनामा बितेका आठ महिनाको बजेट खर्च ४३ दशमलब ४४ प्रतिशत मात्रै छ । गत फागुन मसान्तसम्म सरकारले कुल ७ खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा सरकारको चालू खर्च ५१ दशमलव ४६, पुँजीगत खर्च २२ दशमलव १५ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च ३७ दशमलव ४१ प्रतिशत रहेको छ । चालूगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँबराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म ६ खर्ब ८ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ देखिएको छ ।

यसैगरी, पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ वार्षिक विनियोजन रहेकोमा अहिलेसम्म २२ दशमलव १५ प्रतिशत (८४ अर्ब २५ करोड ६० लाख रुपैयाँ) मात्र खर्च भएको देखिएको छ ।

त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रकको तथ्यांक हेर्दा आठ महिना अवधिमा पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी देखिएको छ ।

फागुन मसान्तसम्ममा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२ दशमलव ७ प्रतिशतबराबर मात्र छ । चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख रुपैयाँ मात्र संकलन भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot