Logo

नेपालले आज यूएईसँग खेल्दै, जिते विश्वकप छनोटमा पुग्ने



काठमाडौं, चैत २ । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा आज नेपाल र यूएईबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान साढे ९ बजेदेखि सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

आज यूएईलाई हराएमा नेपालले सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर प्लेअफ खेल्नेछ । नेपालको नजर नामिबिया नभएर जिम्बाब्वे भ्रमणमा छ ।

उच्च लयमा रहेको नेपालले बिहीबार यूएईविरुद्ध जित निकाल्न चाहन्छ । यही सिरिजमा नेपालले यूएईलाई १७७ रनले हराएको थियो । यूएईविरुद्धको पछिल्लो पाँच ओडिआईमा नेपालले एक खेलमा मात्र हार बेहोरेको छ ।

लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले बिहीबार पनि सोही लय दोहोर्याउन चाहन्छ । यद्यपि नेपालले यूएई पनि लयमा फर्किएको छ । बुधबार मात्र उसले पिएनजीलाई ६ विकेटले हराएको थियो ।

अन्तिम खेलका सबै टिकट चैत १ गते नै बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

आज को खेलमा दर्शकको संख्या अत्यधिक हुने भएकाले बालबालिका र वृद्धवृद्धालाई सुरक्षित तरिकाले घरमै प्रत्यक्ष प्रसारण हेर्न क्यानले आग्रह गरेको छ। यससँगै त्रिवि मैदानमा आउने दर्शकलाई पनि संयमित तरिकाले खेल हेर्न क्यानले अपील गरेको छ।

नेपाल, यूएई र पपुवा न्युगिनीबीच जारी त्रिदेशीय श्रृंखला अन्तर्गतका खेलमा क्यानले टिकटको मूल्य १५० रुपैयाँ तोकेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot