Logo

सिनियर नेताहरू सरकारमा नजान पनि सक्नुहुन्छः कांग्रेस सहमहामन्त्री



काठमाडौं, २ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले आफ्नो पार्टी कसको नेतृत्वमा सरकारमा जाने भन्ने छलफल नभएको बताएका छन् ।
‘अब नेपाली कांग्रेस सरकारमा जाने बारेमा कुनै शंका रहेन । तर कसको नेतृत्वमा सरकार जाने भन्नेबारे हिजो केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कुनै छलफल भएन । सिनियर नेताहरुमध्ये कसैले नेतृत्व गर्नुहुन्छ वा सिनियर नेताहरु कोही पनि सरकारमा नजान पनि सक्नहुन्छ । यसबारे सरकारले विश्वासको मत लिएपछि मात्र छलफल र निर्णय होला,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै परियारले भने ।
कांग्रेस नेता परियारले सरकारमा नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने पनि औंल्याए । उनले भने, ‘अब बन्ने मन्त्रिपरिषद्मा जाने पटक पटक मन्त्ती भएकालाई पठाउने कि नयाँलाई पठाउने भन्ने बारेमा छलफल छ । मेरो व्यक्तिगत राय नयाँलाई प्राथमिकता दिनुपर्ने हुन्छ । हामीले नयाँ मात्र होइन, समावेशी चरित्रको पनि बनाउनुपर्ने हुन्छ ।’
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चितवन २ को उपचुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न मात्र भनिएको उनले बताए । उनले भने, ‘हामीले हिजो चितवन २ को उपचुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न भनेका छौं । तनहुँ १ र बारा २ का बारेमा कुनै छलफल भएको छैन ।’
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई मतदान गर्ने पहिले तय भइसकेकाले निर्वाचन आचारसंहिता उल्लंघन नभएको दाबी पनि उनले गरे । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण भारत र चीनबाट हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा भने, ‘कुन भ्रमण महत्त्वपूर्ण छ र कहाँ जानु उपयुक्त हुन्छ, त्यो प्रधानमनत्रीले सोच्ने कुरा हो । त्यो उहाँको विशेषाधिकार पनि हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot