Logo

गृहमा एकिकृत समाजवादीसहित तीन पार्टीको दाबी



काठमाडौं, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एस, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन् । पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन् ।

ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ । यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ । ‘गृह मन्त्रालयमा नेकपा एसका अतिरिक्त माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि तीव्र रुची देखाएका छन्,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह, अर्थ जस्ता मन्त्रालयमा कुन पार्टीले सम्हाल्ने भन्ने विवाद कायमै छ । विभिन्न दलका शीर्ष नेता नै गृह अर्थ जस्ता मन्त्रालयमा दावी गरिरहेको र त्यसमा पनि माधव नेपाल नेतृत्वको नेकपा एसका नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले नै गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने भन्दै आएका छन् ।

नेकपा एसबाट उनीहरू दुईमध्ये एकले सरकारको नेतृत्व गर्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ मा विश्वासको मत लिने भन्दै बिहीबार संघीय संसद्मा पत्र पठाइसकेको र चैत ७ गतेबाट सरकार विस्तार हुने भएपछि तीन पार्टीले नै गृहमन्त्रालयको दावी गरेका हुन् । आजको नागरिक दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्