Logo

जनमत पार्टीका महासचिवको प्रश्न– चुनाव भएको चार महिनामै उपेन्द्र यादवका लागि किन सिट खाली गर्ने ?



काठमाडौं, ३ चैत । जनमत पार्टीका महासचिव चन्दन सिंहले उपराष्ट्रपतिमा १० दलीय गठबन्धनको आधिकारिक उम्मेदवार कोही नभएको बताएका छन् ।
‘हामी १० दलीय गठबन्धनमा छौं । तर उपराष्ट्रपतिमा गठबन्धनको आधिकारिक उम्मेदवार कोही छैन । हामीले गठबन्धनका नागरिक उन्मुक्ति पार्टी र लोसपालाई प्रस्तावक र समर्थक राखेर ममता झालाई उठाएका छौं । त्यसैले हामीले जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने कुनै सम्भावना छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सिंहले भने ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीले त जसपालाई समर्थन गरेका छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘१० दलीय गठबन्धनको उम्मेदवारलाई समर्थन गरेका होइनन् । आआफ्नो पार्टीको निर्णय गरेका हुन् ।’
उपेन्द्र यादवको व्यक्तिगत महत्वाकांक्षाका कारण १० दलीय गठबन्धनको एउटा उम्मेदवार हुन नसकेको आरोप पनि उनले लगाए । सिंहले थपे, ‘उहाँले युवा र जनताको भावना बुझ्नु भएको छैन । उपेन्द्र यादव १५ वर्षदेखि सत्ता राजनीतिमै हुनुहुन्छ । चुनाव भएको चार महिना पनि भएको छैन, अहिले नै उहाँका लागि किन क्षेत्र खाली गर्ने ? उहाँ नयाँ र परिवर्तनकारी शक्तिलाई पन्छाएर व्यक्तिवादी राजनीति गर्नुहुन्छ । एक्लै एक्लै मै हुँ भनेर हिँड्नुभएको छ । रामसहायले जित्ने अवस्था छैन । तर उहाँ बारा २ मा उठ्नुभयो भने हाम्रो पनि उम्मेदवारी रहन्छ ।’
निर्वाचन आयोगले उपराष्ट्रपति उम्मेदवार फरक लिंगको हुनुपर्छ भनेर विज्ञप्ति निकाल्दा पनि उपेन्द्र यादवले पुरुषलाई नै उम्मेदवार बनाएको आरोप पनि सिंहले लगाए । उनले भने, ‘उहाँले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउनुभयो । प्रधानमन्त्रीलाई भन्न लगाएर जबर्जस्ती दर्ता गराउनुभयो । उपेन्द्रसँग प्रधानमन्त्रीको के मोह हो ? मैले बुझ्न सकेको छैन ।’
उपराष्ट्रपतिको उम्मेदवारीले गठबन्धनमा दरार नआउने पनि उनले स्पष्ट पारे । उनले भने, ‘वर्तमान गठबन्धन सरकारमा हाम्रो सहमति छ । तर उपराष्ट्रपतिको उम्मेदवारी रद्द गरेर रामसहायलाई समर्थन गर्ने सम्भावना छैन । अरु दलको हठले गठबन्धनमा गडबडी आउन सक्छ । तर हाम्रो कारणले गडबडी हुन्न ।’
उनले वर्तमान सरकारलाई जनमत पार्टीले विश्वासको मत दिने पनि बताए । सिंहले लोसपा र नागरिक उन्मुक्ति पार्टीसँग आफ्नो पार्टीले कार्यगत एकता गरेर अघि बढ्ने औंल्याउँदै उनले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताए ।



प्रतिक्रिया दिनुहोस्