Logo

बागमती प्रदेश : मुख्यमन्त्री जम्कट्टेलले मंगलबार पुनः विश्वासको मत लिने



हेटौँडा, चैत ४ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पुनः विश्वासको मत लिने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट हटेसँगै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट आगामी मंगलबार विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै बागमती प्रदेश सरकारबाट राप्रपा बागमती प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो। प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत फागुन १३ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

प्रदेश सभामा कुनै एक दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको अवस्थामा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले गत माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो।

मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनेबारेको सूचना प्रदेश सभामा जानकारी गराइएको छ । प्रदेश सभामा रहेको सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्