Logo

कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षमा उभिँदै



काठमाडौं, चैत ५ । हालसम्म संसद्को प्रतिपक्ष बेन्चमा बस्दै आएको नेपाली कांग्रेसले आइतबारको संसद् बैठकमा सत्तापक्ष कित्तामा बसेर एमालेलाई प्रतिपक्षी बेन्च खाली गर्ने भएको छ । सत्ता सहयात्रामा दुई महिना मात्रै सँगै रहेको एमाले–माओवादीसहितको सात दलीय गठबन्धन भत्किएर कांग्रेससहितको आठ दलीय नयाँ गठबन्धन कांग्रेस सत्तापक्षमा बस्ने भएको हो ।

सत्ता गठबन्धनमा सामेल भए पनि सरकारमा सहभागी नभएको भन्दै प्रतिपक्षी बेन्चमै बस्दै आएको कांग्रेसले आइतबार बस्ने संसद् बैठकलाई सहजरूपमा सञ्चालन गराउन भूमिका खेल्ने बताएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसले पहिला पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासका मत दिएको र फेरि पनि मत दिने अवस्थामा रहेको बताए।

उनले भने– ‘हामीले वर्तमान प्रधानमन्त्रीलाई पहिला पनि विश्वासको मत दिएका र अहिले कांग्रेससहितको नयाँ गठबन्धन बनेर राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा समेत एक ठाउँ उभिएकाले कांग्रेस सत्ता पक्ष दलको हिसाबमा अघि बढेको छ ।’ प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक चैत ६ गते विश्वासको मत लिने तयारी भएकाले त्यसअघि नै पार्टीको बैठक राखेर सरकारलाई विश्वासको मत दिने र संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गर्ने तयारीमा रहेको उपसभापति गुरुङले जानकारी दिए ।

आइतबारको संसद् बैठकमा कांग्रेस प्रतिपक्षी बेन्चमै बसे एमाले संसद् अवरुद्ध गर्ने पक्षमा रहेको छ । नेकपा (एमाले) का सचेतक पदम गिरीले पहिला नै विश्वासको मत दिइसकेको र वर्तमान सत्ता गठबन्धनमा रहेर सरकारमा जाने तयारीमा रहेको दल प्रतिपक्षी हुन नसक्ने बताए । सरकारबाट बाहिरिएर संसद्मा जनताका आवाज उठाउनका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्ने उनको भनाइ छ । संसद्मा सत्ता पक्षको अवस्था हेरेर एमालेले निर्णय लिने भन्दै गिरीले भने, ‘कांग्रेसले सरकारलाई विश्वासको मत दिने, सत्ता गठबन्धनमै रहने तर संसद्मा प्रतिपक्षी हुँ भन्नु संसदीय अभ्यासविपरीत हो । हामी विरोध गर्छौं ।’

नेकपा एमालेको सोही रणनीतिलाई मध्यनजर गर्दै आइतबारको बैठकलाई सहज बनाउन कांग्रेस सत्ता पक्षमा रहने र सरकारमा समेत सामेल हुनुपर्ने कांग्रेस नेताहरूको धारणा छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुअघि नै कांग्रेस सत्ता पक्षको कित्तामा उभिनुपर्ने अधिकांश नेताहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot