Logo

विश्वविद्यालयमा पार्टीको होइन, प्राज्ञिक एजेन्डा बोकौंः पूर्वउपकुलपति



काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. तीर्थराज खनियाले पार्टीगत राजनीतिको छायामा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको टिप्पणी गरेका छन् ।
‘नेपाल विश्वविद्यालयमा सबभन्दा बढी राजनीति हुने देश हो । जयतु संस्कृतम्देखि यताको सात दशकसम्म विद्यार्थीलाई सबैभन्दा बढी राजनीतिमा प्रयोग हुँदै आएको छ । विश्वविद्यालयमा पार्टी राजनीतिको छाया बढी भयो । स्ववियु निर्वाचनको टिकट नै पार्टीले बाँड्छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. खनियाले भने ।
प्रमुख तीन राजनीतिक दलले विश्वविद्यालयमा शैक्षिक सुधारमा ध्यान नदिएको आरोप पनि उनले लगाए । डा. खनियाले भने, ‘विद्यार्थी संगठनहरु शिक्षा सुधारको कुरै निकाल्दैनन्, पार्टीको एजेन्डा मात्र निकाल्छन् । शिक्षाको गुणस्तर कम भयो, कक्षा कोठामा राम्रो पढाऊँ, प्रविधिको प्रयोग गरौं भन्ने चिन्ता छैन, स्कलरसिप र भर्नामा मात्र चासो छ । प्रमुख दलहरु युनियनका निर्वाचित नेताहरुलाई पार्टीका एजेन्डालाई छाड, प्राज्ञिक एजेन्डा बोक भन्नु भन्दा विश्वविद्यालय बन्द गर्दा नै खुसी हुन्छन् । प्रमुख तीन दलले युनिभर्सिटी चलाउन सहयोग गरेको मलाई थाहा छैन । कुलपति, सहकुलपतिलाई पनि शैक्षिक सुधारमा मतलब छैन ।’
उनले दलहरुलाई छिमेकी देश भारतबाट सिक्नु पनि औंल्याए । उनले भने, ‘भारतमा सन् १९८७ पछि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप छैन । दलहरुले विद्यार्थीलाई प्रयोग गर्दैनन् । विश्वविद्यालयमा राजनीतिक नेतामात्र होइन प्राज्ञिक नेताहरु पनि जन्माउँ न । हरेक १० वर्षमा संविधान फेर्ने राजनीतिबाट हामीले के सिक्ने ?’

 



प्रतिक्रिया दिनुहोस्