Logo

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, चैत ५ । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनु हुने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यस्तै, सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनु हुने छ ।

बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

सांसद् प्रेम सुवालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०७९ पेस गरिने कार्यसूची छ ।

यसैगरी, सांसदद्वय ज्ञानबहादुर शाही र प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गर्नुहुने छ भने प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर के.सी.ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

संसदको प्रमुख प्रतिपक्षी दल को भन्ने विवादले संसद बैठक बस्न नसकिरहेको अवस्थामा आइतबारको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot