Logo

एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर



काठमाडौँ, ६ चैत । चितवन जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९ अपाङ्ग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् ।

भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिए । उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताए ।

इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन र कालिकामा नौ बालबालिका केन्द्रमा छन् ।

अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिए । उनीहरुमध्ये तीन सय हाराहारी भरतपुरभित्रका छन् । विश्वमा जन्मने ४४ बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिए । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१ बालबालिका अध्ययन गर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्