काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले यति छिटो नै विश्वासको मत फेरि लिनुपर्ने अवस्था आउँछ भनेर आफूले नसोचेको स्पष्ट पारेका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले आफू नेतृत्वको सरकारमा सबै मन्त्रीहरुबीच सौहार्दपूर्ण सम्बन्ध रहेको सुनाए । तर, राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनमा आफ्नो प्रस्तावपछि एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको र समर्थन पनि फिर्ता लिएको स्मरण गराउँदै दाहालले आफूले संविधानतः फेरि पनि विश्वासको मत लिन लागेको बताए । उनले एमाले र राप्रपाले गरेको निर्णयको मूल्यांकन ती दलले नै गर्ने बताए ।
सो क्रममा प्रधानमन्त्री दाहालले संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन् । उनले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको सुनाए । उनले भने,‘सर्वोच्च अदालतले दुई(दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन, तर संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भनेपछि तत्कालीन गठबन्धनमा अविश्वासको वातावरण सिर्जना भयो।’