Logo

संसद्मा माधव नेपालको टिप्पणी : “हाम्रो मानसिकता अरुलाई दोष दिनेछ” (भिडिओसहित)



काठमाडौं, ६ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुने दाबी गरेका छन् । नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताए।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे ।

उनले भने,“अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।” अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसक्नुभएको उल्लेख गरे ।

“हाम्रो मानसिकता अरुलाई दोष दिनेछ”, उनले भने,“आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।” प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्