काठमाडौं, ६ चैत्र । निर्वाचन आयोगले बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको आयोगको बैठकले चितवन २ सँगै बारा २ र तनहुँ १ मा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बैशाख १० गते उपनिर्वाचन गर्ने जनाएको छ।
यसअघि चितवन २ बाट निर्वाचित रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गर्दा त्यहाँ बैशाख १० गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको थियो।
यस्तै, तनहुँ १ बाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो।
त्यस्तै, बारा २ बाट विजयी भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुदाँ सो क्षेत्र रिक्त भएको हो।