काठमाडौं, ६ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले मुलुकको स्थायित्व र विकासको लागि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष सरकारको नेतृत्व गर्न दिनुपर्ने माग गरेका छन् । संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो बताएका हुन् ।
उनले भागबण्डाको नाममा सरकार परिवर्तन हुने कुराले मुलुक र जनताको हित नहुने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई नै पाँचै वर्ष सरकारको नेतृत्व गर्न दिनुपर्ने धारणा राखे । उनले ६ महिना वा एक वर्षपछि सरकार परिवर्तन हुने राजनीतिक गन्ध आफूले पाएको पनि टिप्पणी गरे ।
सत्ता साझेदार दलहरुले आज संसद्मा नबोलेपनि पत्रकार सम्मेलन गरेर भएपनि वर्तमान सरकारलाई नै पाँच वर्षसम्म चल्न दिने कुरा बताउनुपर्ने उनको सुझाव थियो । त्यस्तै, उनले मुलुकको अर्थतन्त्र दयनीय अवस्थामा रहेको पनि टिप्पणी गरे ।
मुलुकको शिक्षा र स्वास्थ्यको अवस्था पनि नाजुक अवस्थामा रहेको सुनाउँदै प्रधानमन्त्री दाहाललाई शिक्षामा सुधार ल्याउनेगरि काम गर्न सुझाव दिए । उनले अहिले सत्ता साझेदार दलबाट सबैले उपप्रधानमन्त्री बन्नको लागि माग गरिरहेको सुनाए । उनले अहिले भ्रष्टाचार सिंहदरबारमा मात्रै नभएर गाउँगाउँसम्म पुगेको आरोप लगाए ।