Logo

स्थगित स्ववियु निर्वाचन अनिश्चित



काठमाडौं, चैत ७ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ विपरीत स्थगित भएका क्याम्पसमा चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिएका छन् ।

उपकुलपति प्राडा बास्कोटाले आइतबार दिउँसो विज्ञप्ति जारी गरी स्थगित भएका क्याम्पसको स्ववियु निर्वाचन गर्न निर्देशन दिएपछि निर्वाचन प्रक्रिया शुरू नभएका क्याम्पसमा निर्वाचन गर्ने वा नगर्ने विषयमा अन्योल भएको छ ।

केन्द्रीय निर्वाचन तथा अनुगमन समितिले फागुन तेस्रो साता जारी गरेको १३ बुदे निर्देशिकामा स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख गरेको थियो । निर्देशिकाको दफा १२ को उपदफा ८ मा चैत ५ गते स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख छ ।

तर, उपकुलपति डा बास्कोटाले चैत १२ गतेभित्र स्ववियु चुनाव गरिसक्न आग्रह गर्नुभएको छ । ‘कुनै कारणवश शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन हुन नसक्ने अवस्था सिर्जना भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगित गरी ३० दिनभित्र मिति तोकी निर्वाचन गर्नुपर्नेछ’ –समितिले जारी गरेको निर्देशिकामा लेखिएको छ ।

‘उपकुलपति प्राडा बास्कोटाले समितिसँग सल्लाह नै नगरी एकाएक विज्ञप्ति जारी गरेपछि थप समस्या आएको छ’ –एक अधिकारीले नेपाल समाचारपत्रसँग भने । ‘त्रिविका पदाधिकारीसहितको बैठकबाट निर्देशिका जारी भएको हो, उपकुलपतिले निर्वाचन स्थगित भएको क्याम्पसमा १२ गतेभित्र गरिसक्न निर्देशन दिएपछि समस्या परेको छ’ –ती अधिकारीले भने ।

काठमाडौं उपत्यकाभित्रका ७ वटा क्याम्पसमा आइतबार स्ववियु चुनाव हुन सकेन । उपत्यका बाहिरका १४ क्याम्पसमा रोकिएको छ । त्रिविको ६२ आंगिक क्याम्पसमध्ये ३९ वटामा मात्र चैत ५ गते निर्वाचन भएको थियो ।

स्थगित भएकामध्ये केहीमा भर्ना विवाद देखिएको छ । केहीमा विद्यार्थी संगठनबीचको विवादले रोकिएको छ । विद्यार्थी संगठनको विवादले पाटन संयुक्त, त्रिचन्द्र, आरआरलगायतका क्याम्पसमा तालाबन्दी भएको छ । उपत्यका बाहिर केही क्याम्पसले पर्सि चैत ८ गते निर्वाचन गर्ने तयारी गरेका छन् । स्थगित अधिकांश क्याम्पसमा विवाद साम्य हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot