Logo

मन्त्रिपरिषद् विस्तारको मुखमा सभापति देउवाको डेरामा कांग्रेस नेताहरुको चहलपहल (फोटोफिचर)



भूपेन्द्रसिंह धामी-काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । हिजो (सोमबार) संसद्मा विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले ढिलोमा चार दिनभित्र सरकारलाई पूर्णता दिने प्रतिबद्धता जनाएका थिए ।

सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले पनि सरकारमा सहभागिता जनाउने भएको छ । त्यसको लागि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालसँग विभिन्न चरणमा छलफलसमेत गरिसकेका छन् । कांग्रेसले बढिमा ८ मन्त्रालय लिने समझदारी भएको छ । तर, कांग्रेसबाट मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् ।

सभापति देउवालाई नेताहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । मुख्य कुरा पार्टीबाट कसलाई सरकारको नेतृत्व गरेर पठाउने भन्नेबारे नै देउवा निश्कर्षमा पुगिसकेका छैनन् । उनले त्यसको लागि पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतका नेताहरुसँग छलफल गरेका छन् ।

पूर्व महामन्त्री शशांक कोइराला पनि सरकारमा जाने तयारीमा छन् । कांग्रेसबाट प्रचण्ड नेतृत्वको सरकारमा कसले नेतृत्व गर्छ भन्ने कुरा भोलिसम्म टुँगो लाग्नेछ । आज (मंगलबार) सभापति देउवाको धुम्बाराहीस्थित् डेरामा सांसदहरुको भिड लागेको छ ।

अधिकांश सांसदहरु मन्त्री बन्ने आकांक्षा बोकेर त्यहाँ पुगेको चर्चा छ । देउवाले गगन थापालाई पनि सरकारमा जानको लागि आग्रह गरेका छन् । तर, थापाले अहिले आफू पार्टीकै काममा सक्रिय हुने जवाफ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्