Logo

उद्योग विभागमार्फत मात्रै ४ खर्ब ३९ अर्बको वैदेशिक लगानी



काठमाडौं, चैत ९ । ६ अर्ब रुपैयाँभन्दा कम लगानी गर्ने विदेशी लगानीकर्तामार्फत हालसम्ममा उद्योग विभागमार्फत ४ खर्ब ३९ अर्ब ८२ करोड ९४ लाख लगानी प्रतिबद्धता आएको छ । ६ अर्बभन्दा माथिको वैदेशिक लगानीलाई लगानी बोर्डले स्वीकृति दिने प्रावधान रहेको छ ।

आर्थिक वर्ष २०१७/१८ देखि हालसम्ममा स्वदेशी र विदेशी गरी कुल १७ खर्ब ८२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता भएको छ ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ता गरी ८ हजार ९ सय ४७ उद्योगका लागि लगानी प्रतिबद्धता आइसकेको छ । विभागकी निर्देशक रमिला भण्डारीले भनिन्, ‘प्रतिबद्धता आएका हिसाबले मात्रै तथ्यांक हेर्ने हो भने हालसम्ममा उद्योगहरूबाट ६ लाख ७० हजार २ सय ५५ जनालाई रोजगारी दिइसकेको हुनुपर्छ ।’

विभागका अनुसार आवको पहिलो ८ महिनामा मात्रै १ सय ८३ वटा उद्योगले उद्योग दर्ता गरेका छन् । विभागको तथ्यांकनुसार हालसम्ममा ५ हजार ६ सय ९२ वटा विदेशी लगानीमा उद्योेग दर्ता भइसकेका छन् । चालू आवको साउनदेखि फागुनसम्ममा १ सय ५९ वटा विदेशी लगानीमा उद्योग स्थापनाका लागि स्वीकृति दिइएको छ । फागुनमा मात्रै १५ वटा विदेशी लगानीमा उद्योग दर्ता भएका छन् ।

चालू आवको साउनदेखि फागुनसम्ममा २० अर्ब ५६ करोड लगानी प्रतिबद्धता भएको छ । फागुनमा मात्र १५ वटा विदेशी लगानीको उद्योगका लागि १ अर्ब ९२ करोड ९० लाखको लगानी प्रतिबद्धता भएको छ । विदेशी लगानीबाट हालसम्ममा ३ लाख १ हजार ५ सय ९८ जनाले रोजगारी पाएको हुुनुपर्ने र चालू आवमा दर्ता भएका उद्योगबाट मात्र ९ हजार ४ सय ७८ जनाले नयाँ रोजगारी पाउने देखिएको उद्योग विभागले जनाएको छ । फागुनमा दर्ता भएका १५ वटा विदेशी लगानीका उद्योगले ८ सय ७३ जनालाई रोजगारी दिने जनाएको छ ।

उद्योग विभागका अनुसार गत साउनदेखि फागुनसम्ममा स्वदेशी र विदेशी लगानीमा गरी १ सय ८३ वटा उद्योग दर्ता भएका र १ खर्ब ५५ अर्ब लगानी प्रतिबद्धता भएको छ । जसबाट १२ हजार ७ सय ४८ जनाले रोजगारी पाउने देखिएको छ । उद्योग विभागले यी दर्ता भएका उद्योगमध्ये ४३ वटाको प्रारम्भिक वातावरणीय परीक्षण गरेको छ ।

फागुन महिनामा ७ अर्ब ३० करोड लगानीसहित १९ वटा उद्योग दर्ता भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot