Logo

आगलागीको क्षति उच्च



काठमाडौं, चैत १० । दस वर्षयता नेपालमा डढेलो र मानवीय कारणले भएको आगलागीको क्षति अत्यधिक देखिएको छ।

डढेलो र गैरप्राकृतिक आगलागीको बढ्दो घटनासँगै मानिसको ज्यान गएको मात्र होइन २०७२ सालको भूकम्पले पु-याएको क्षतिपछिको दोस्रो लहरको आर्थिक क्षति भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए।

२०७० सालयता १० वर्षको अवधिको डढेलो र गैरप्राकृतिक आगलागीको तुलनात्मक विश्लेषण गर्दै पोखरेलले भने ०७५ सालदेखि यताको क्षति अघिल्लो पाँच वर्षभन्दा झन्डै दोब्बरले बढेको छ।” यस वर्षको ११ महिनामा गैरप्राकृतिक आगलागीबाट १०२ जनाको ज्यान गएको छ भने ३५२ जना घाइते भएका छन्। २०७० सालमा आगलागीबाट ६० जनाको ज्यान गुमेको थियो। १० वर्षको अन्तरालमा मृत्यु हुनेको सङ्ख्या दोब्बर हुन लागेको अहिलेको तथ्याङ्कले देखाउँछ।

कुल दुई हजार ६१३ आगलागी भएका घटनाबाट झन्डै साढे २३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ। १० वर्षअघि करिब आठ सयवटा आगलागीका घटना हुने गरेका थिए। त्यस्तै डढेलोको १३४ घटना भएका छन्। जसमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भए।

डढेलोका कारण एक करोड ३५ लाख रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। डढेलोविज्ञ सुन्दर शर्माले भने “बाहिरबाट देखिएको भौतिक क्षतिको विवरण यकिन भए पनि वनभित्र अमूल्य निधिका रूपमा रहेका वन्यजन्तु र पन्छीको कति विनाश भयो त्यसको लेखाजोखा छैन।”

सन् २००८ ताका एक हजार छ सय हाराहारी रहेको डढेलोका घटना दोब्बरले वृद्धि हुँदै सन् २०१२ मा साढे तीन हजारमाथि पुगेको थियो। त्यसपछि सन् २०१८ मा तीन हजार आसपासको डढेलो रेकर्ड भएको प्राधिकरणले उल्लेख गरेको छ। यस वर्ष डढेलोका घटनामा व्यापक वृद्धि भएको छ। लामो खडेरीका कारण बढेको डढेलोमा केही दिनको वर्षाले राहत दिए पनि अझै जेठसम्मको अवधि खतरायुक्त रहेको शर्माले बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्