काठमाडौं, चैत १० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् । गत बुधवार विश्वासको मत लिने तयारी गरिएपनि नेपाली कांग्रेस सांसदहरु अनुपस्थित हुने भएपछि बैठक सारिएको थियो ।
पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । राप्रपा बाहिरिएपनि अहिलेसम्म नेकपा (एमाले) भने सरकारबाट बाहिरिएको छैन ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।