काठमाडौं, ११ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग् एकता छिट्टै हुने दाबी गरेका छन् । त्यसको लागि वार्ता टोली बनाएर छलफल जारी रहेको उनले खुलासा गरे ।
आज (शनिबार) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत पुगेका बाबुरामले यस्तो खुलासा गरेका हुन् ।
उनले भने,‘माओवादीसँग एकताको लागि वार्ता टोली बनाएर छलफल जारी छ । हामीले एक अर्काको दस्तावेज आदानप्रदान गरेका छौं । दुईवटा पार्टी मात्रै नभएर अरु कम्युनिस्ट दलहरुसहितको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ भन्ने पक्षहरु पनि छ । समाजवादी धार निर्माण गर्नेबारे पनि वृहत् छलफल चलेको छ ।’
उनले अहिले मुलुकको अवस्था ठिक नरहेको टिप्पणी गरे । उनले अहिलेको सत्ता गठबन्धन आगामी पाँच वर्षमै जाने पनि विश्वास दिलाए ।