Logo

वैदेशिक रोजगार विभागमा कुटिएको भन्दै तारा बरालको हेलमेट पत्रकार सम्मेलन–विभागका प्रमुखले हामीलाई कुटाउन मान्छे बोलाउनुभयो (भिडिओसहित)



काठमाडौं, ११ चैत्र । सामाजिक अभियन्ता तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरुको न्यायका लागि आफूहरु वैदेशिक रोजगार विभागमा जाँदा कुटाई खानुपरेको बताईन् । पीडितहरुको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताईन् । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

मेनपावरबाट सुरक्षित बनौं भन्ने सन्देश दिनका लागि आफूहरुले आज हेलमेट कार्यक्रम गरेको उनले बताईन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियान्ता बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भएपनि पीडितको गुनासो कसैले पनि नसुनेको बताईन् ।

‘वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय निकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरु छन् । तर, पीडितहरुको सुनुवाई गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यतिधेरै निकाय हुँदा पनि किन यतिधेरै पीडित छन् ? पीडित समस्या लिएर जाँदा मेरो दायित्वभित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ ?’–उनले प्रश्न गरिन ।

वैदेशिक रोजगार विभागमा पत्रकारहरुको क्यामेरासमेत लुटपाट भएको उनले बताईन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरु मेनपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

वैदेशिक रोजगारलाई नियमन गर्ने निकायहरु वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायतमा पीडितका गुनासो सुन्ने भन्दा पनि पीडितलाई थर्काउने र तर्साउने काम भइरहेको बरालको आरोप छ । आफू पीडितको गुनासो सुन्ने आधिकारिक कोही नभएको उनले बताईन् । पीडितले पीडा लिएर आएपछि आफूले सहयोग गर्ने प्रयास गरिरहेको उनको भनाई छ ।

‘पीडितहरुको पीडा मैले सुन्न नसकेको हो । त्यहाँ उजुर हालेको एक महिनासम्म पनि उनीहरुले खोजी गर्दैनन् । त्यो भएपछि पीडित हामीसँग आउँछ । म केही होइन । म यो खोजी गर्ने कोही पनि होइन । नेपाली जनतामात्रै हो । जनताको अधिकार छैन र पीडितको पीडा खोज्न ? उनले प्रश्न गरिन् ।

आफूले कसैको काम गरिदिएको वापत अहिलेसम्म कसैको एक रुपैयाँ पनि नलिएको उनले बताईन् । कसैसँग पैसा लिएको प्रमाण भए सार्वजनिक गरिदिन पनि उनले चुनौति दिइन् । बाबा मेनपावरका प्रज्ञान न्यौपानेले तारा बरालले पैसा खाएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाईन् ।
साथै, वैदेशिक रोजगारका क्रममा देखिने समस्या तत्काल समाधानका लागि उनले सरकारसँग आग्रह गरिन् ।

वैदेशिक रोजगार उद्दार नेपालका अध्यक्ष ईन्द्रलाल गोलेले युवाहरु घरजग्गा बन्धकी राखेर सपना बोकी वैदेशिक रोजगारमा गएपनि सरोकारवाला निकायले प्रवाभकारी समन्वय नगर्दा अहिले जटिल समस्या आइरहेको बताए । साथै, वैदेशिक रोजगारमा जानेहरुले पनि आफू जाने देश, काम, पाउने सुविधा लगायतका कुरा राम्रोसँग बुझेर जानुपर्ने उनले बताए । आफूहरुले पीडितको पक्षमा बोल्दा मेनपावरले गुण्डाको ट्याग लगाएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot