Logo

भारतीय दूतावासले मनायो ५८ औं आइटेक दिवस (फोटोफिचर)



काठमाडौं, चैत १२ । काठमाडौंस्थित भारतीय राजदूतावास शुक्रबार एक समारोहकाबीच ५८ औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाइ (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५०० भन्दा बढी अतिथिको उक्त कार्यक्रममा उपस्थित रहेका थिए ।

समारोहमा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाल लगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरु माझ पुर्याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे । साथै राजदूत श्रीवास्तवले भारतले यो वर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्ने बारे विचार भइरहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे, सहायक रथी पूर्ण बहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसी लगायतका आइटेक अलम्नाइहरूले भारतमा रहँदाका दिनहरुको सम्झना गरे । सो अवसरमा भारतीय राजदूतावास,स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरुमाझ पुर्याई त्यहाँको मानव संसाधनको विकासमा टेवा पुर्याउन यस आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको छ । सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउँदै आएको छ ।

घनिष्ठ एवम् नजिकको छिमेकी भएको नाताले विगत केही दशकदेखि भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहेको छ ।

गएकोे १५ वर्षमा मात्रै नेपालका २ हजार भन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ । भारतको प्रयासको एक हिस्साको रुपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकासमा सहयोग मात्र नपुर्याई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा योगदान पुर्याएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot