Logo

जसपाले चारवटा मन्त्रालय पाउनुपर्छः यादव



काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री प्रदीप यादवले सोमबारसम्म मन्त्रीमण्डलले आकार पाउने ठोकुवा गरेका छन् ।
‘एउटा घर मिलाउन त समस्या हुन्छ भने १० वटा दल मिलाउन र चित्त बुझाउन अलिक समय लाग्छ नि । गठबन्धनमा भागबन्डाले समस्या र दरार आएको छैन । प्रधानमन्त्रीजीले सबै दलसँग वान टु वान कुरा गरिरहनुभएको छ । मलाई विश्वास छ, भोलि बेलुकी वा पर्सि बिहानसम्म परिणाम आउँछ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै यादवले भने ।
भागबन्डामा ठूला दलले उदार दिल बनाउनुपर्ने उनले औंल्याए । यादवले भने, ‘गठबन्धनमा सबै दलले आआफ्नो अडान राख्नुभएको छ । तर यसमा ठूला दलहरुले दिल उदार बनाउनुपर्छ । सातदेखि आठ मन्त्रालय कांग्रेस, माओवादीलाई चारदेखि पाँच दिने मन्त्रालय कुरा छ । तीनवटा मन्त्रालय समाजवादीलाई दिने कुरा छ । जसपाले पनि तीनदेखि चार पाउनुपर्छ । यो सरकार बनाउन जसपाको ठूलो भूमिका छ, हामी सरकारको महत्त्वपूर्ण घटक हौं, त्यो पनि हेर्नुपर्छ । हामीले जसपालाई स्टाबिलिस गराउनु छ । प्रतिनिधिसभामा मात्र नभएर राष्ट्रिय सभामा पनि हाम्रा तीनजना सांसद छन् ।’ उपप्रधानमन्त्री राख्ने कि नराख्ने प्रधानमन्त्रीको तजबिजी अधिकार भएको पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्