Logo

बालुवाटरमा प्रचण्ड र देउवाबीच ‘वान टू वान’ वार्ता



काठमाडौं, चैत १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटरमा छलफल सुरू भएको छ । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न र मन्त्रालय भागबन्डाबारे छलफल गर्न कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीत वान टु वान वार्ता चलिरहेको जनाइएको छ ।

ढिलाइ हुँदै गइरहेको मन्त्रिपरिषद् विस्तारको छलफलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भएको बताइएको छ । आजको छलफलबाट मन्त्रालय जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् ।

सत्ता गठबन्धनमा भएको पछिल्लो सहमतिअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टी (जसपा) का साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ । गृहमन्त्री नपाएको भन्दै सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकारमा जाने योजनामा रहेको छ । सरकारमा जाँदा उसले बढीमा ३ मन्त्रालय पाउनेछ ।

वर्तमान सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, कांग्रेस, जसपा, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राजमो रहेका छन् । यी दलहरूमध्ये राजमोले सरकारमा नजाने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्