काठमाडौँ, १३ चैत । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९÷८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिनुभयो । सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन् । त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन् । यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ ।
गत आव २०७८÷७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिका गरी ४९ जनाको मृत्यु भएको थियो । कार्यालयले सात महिनाकै अवधिमा सवारी साधनलाई कारबाही गरेर रु दुई करोड नौ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । प्रहरीले २६ हजार सात सय सवारी साधनलाई कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको हो ।