नाम : बलदेव शर्मा मजगैयाँ
साहित्यमा बलदेव मजगैयाँ
जन्ममिति : विक्रम सम्वत् २००७ दाङ
माता/पिताः हेमकुमारी/देवीप्रसाद शर्मा
शिक्षा : इतिहासमा स्नातकोत्तर (बीएचयू भारत)
प्रकाशित कृतिहरू
बीपी विचारविन्दु (वि.सं. २०४६), नरमणि (लघु उपन्यास, २०४८), कुहिरो (उपन्यास, २०५१), संकल्प (कथासङ्ग्रह, २०५३), चारु (उपन्यास, २०५४), बेलपत्र (पद्यसङ्ग्रह, २०५७), विवशता (उपन्यास, २०६२), मानसी (उपन्यास, २०६३), बोन्स्री (उपन्यास, २०७३), धर्तीमाता (आत्म–आख्यान, पहिलो भाग, २०७४), समय (उपन्यास, २०७५), राष्ट्रिय जीवनमा बीपी कोइराला (श्रद्धाञ्जली पुस्तिका २०७२), थोरै घाम थोरै पानी (गीति एल्बम, २०६२) यसबाहेक विभिन्न पत्रपत्रिकामा कविता, गीत, लेख र संस्मरण प्रकाशित ।
यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
मेरो प्रथम प्रकाशित रचना वि.सं. २०२१ मा ज्योत्स्ना पत्रिकामा छापिएको थियो । मैले त्यसभन्दा पहिले आमा शीर्षकको कविता विद्यालयकै साहित्य गोष्ठीमा खुट्टा कमाउँदै सुनाएको सम्झना छ । मेरो साहित्य लेखनको प्रारम्भिक प्रेरणा काम त दाङ भरतपुर माध्यमिक विद्यालयमा प्रत्येक शुक्रवार हुने साहित्यिक कार्यक्रम नै हो ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
घरमा साहित्यिक वातावरण थियो । दाजुहरूले साहित्यमा राम्रो दखल राख्ने भएकाले अवश्य पनि वहाँहरूको प्रभाव पनि रह्यो । पछि गएर बीपी कोइरालाको लेखनीले मलाई प्रभावित ग¥यो । उहाँले विभिन्न तरिकाले मलाई लेखनमा प्रोत्साहन गर्नुभयो ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
म अर्को सामाजिक उपन्यास चाँडै प्रकाशन गराउने तरखरमा छु । बीच÷बीचमा फुटकर लेख एवं संस्मरण पनि लेख्नुपर्ने हुन्छ । म लगातार लेखिरहन रुचाउँदिनँ र सक्दिनँ पनि । यसको एउटा कारण त एकान्त वातावरणको असुविधा पनि हो । बीच÷बीचमा आउने फोन र इष्टमित्र तथा साथीभाइसँग भइरहने भेटघाटले पनि मेरो लेखनलाई तत्काल निरन्तरता दिन इच्छा हुँदैन । कतिपटक त दुईतीन दिनै लेखनतिर फर्किइँदैन ।
शायद यसै कारणले होला– मेरा उपन्यासमध्ये मेरो प्रथम कृति नरमणि एवं विवशता, मानसी, जेल र प्रहरी हिरासतमा लेखिए । विदेशको बसाइमा रहँदा बोन्स्री, धर्तीमाता र समय उपन्यास लेखिए । मेरो प्रकाशनोन्मुख कृति पनि बेलायत रहँदा लेखिएको हो ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
मेरो विचारमा कुनै पनि स्रष्टा न लेखनीबाट विश्राम लिन चाहन्छ न त ऊ आफ्नो लेखनबाट नै पूर्ण सन्तुष्ट हुन सक्छ । उसलाई अझै धेरै लेखूँ, निरन्तर लेखिरहूँ, अझै उच्चकोटिको सृजना जन्माउन सकूँ भन्ने तिर्खा लागिरहन्छ । विषय छनोट एवं रचनाकालमा तपाईंले लेखनीलाई अझै परिष्कार गर्ने लोभलाई साकार गर्ने प्रयास गर्ने हो । सृजना भइसकेपछि त्यसप्रतिको लगाव र प्रेम कुनै पनि सर्जकलाई उत्तिकै हुन्छ जस्तो लाग्छ । त्यसपछि त सबै कुरा पाठकको पोल्टामा पुग्छ । पाठकको रुचि आत्मसात् गर्नु कुनै पनि लेखकका लागि आवश्यक हुन्छ । लेखकका लागि आफ्ना सन्तानको रोजाइ सहज हुँदैन । जहाँसम्म मेरो कुरा छ– म आफूले व्यक्त गर्न चाहेको विषयवस्तु, विचार, दर्शन र पात्रप्रति न्याय गर्न सकें भन्ने लाग्यो भने म सन्तुष्ट हुन्छु । मेरा सृजनाप्रति मेरो कुनै गुनासो छैन र म आफ्ना कृतिबाट सन्तुष्ट छु । हो– अझै उच्चकोटिको लेखनी मेरो कलमबाट जन्मियोस् भन्ने सोच र प्रयास भने रहन्छ । एउटा औसत लेखक पनि किताब लेखेर बाँच्न सक्ने परिस्थितिको निर्माणमा के गर्न सकिन्छ भनेर राज्यले चिन्तन गर्नुपर्ने हो ? लेखिएका साहित्य सृजनालाई राज्यको तर्फबाट सकेको भरथेक गरिदिने सोच बनाउनुपर्ने हो । साहित्यकारहरूको अवस्था झोलामा किताब बोकेर पुस्तकालय धाएर मेरो एउटा कृति किनिदिनुहोस् भन्नुपर्ने अवस्थाको अन्त्य कहिलेसम्म होला ? उनको संवेदनशीलता कसले बुझिदिने हो । अझ कतिपय जिम्मेवार व्यक्ति त साहित्यलाई अनुत्पादक विषयको संज्ञा दिएर सहजै तिक्तता पोख्छन् । किताबलाई बचाउने, राज्यको जिम्मेवारी नगण्य रूपमा छ । खाली झारा टार्ने कर्मकाण्डी परम्परालाई राज्यले पुरुषार्थ सम्झिएको छ । समय÷समयमा प्रकाशनगृहहरूको भूमिकाबारे किन विवादित समाचार आइरहन्छन् । यसतर्फको सत्यता र समाधानबारे जिम्मेवार निकायको पटक्कै दृष्टि पुगेको छैन । एक त नेपालमा दिइने राष्ट्रिय पदक एवं पुरस्कार सधैं विवादित हुने गरेका छन् । साहित्यमा पनि राज्यबाट दिइने पुरस्कार, सम्मान एवं मनोनयनहरू राजनीतिक आस्थाका आधारमा ठाडै प्रभावित हुने गरेको आरोप लागिरहन्छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
अन्य क्षेत्रजस्तै साहित्य क्षेत्रको गरिमा एवं साख पनि सत्ता र स्वार्थको जालोमा अल्झिएको महशुस भएको छ । यस्ता अनेक विसंगतिबाट साहित्य क्षेत्रलाई जोगाउनु राज्यको प्रमुख दायित्व हो । स्रष्टालाई आफ्ना कृति प्रकाशनमा आइपर्ने समस्या, लेखकले पाउने लेखकस्वहरू के न्यायसंगत छन् त ? के यी विषयमा दृष्टि दिनु राज्यको दायित्वभित्र पर्ने विषय होइन ? यसबारे कुनै पनि सरकारले कहिले चासो राखेको देखिएन ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
जहाँसम्म मेरो लेखनको कुरा छ, म समाजमा विद्यमान असमानता, अन्याय र शोषणजस्ता धरातलीय यथार्थलाई कल्पनाको जलप लगाएर लेख्न रुचाउँछु । तर कल्पना कल्पनाजस्तो नलागेर वास्तविकतामा चुर्लुम्म डुबेको होस् भन्ने मेरो प्रयास हुन्छ । मेरो कलमले लेखेको विषय पाठकहरू आफ्नै परिवेश, आफ्नै गाउँ घर अथवा खोलापारिको गाउँमा घटेका त्यस्तै कथालाई सम्झिएर घोत्लिन पुगून् ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
मेरो लेखन विषय पाठकको रुचिलाई मुख्य आधार बनोस् र कथावस्तुले कुनै न कुनै सत्य एवं ज्वलन्त विषयको प्रतिनिधित्व गरोस् भन्ने चाहन्छु । म चाहन्छु– पाठक र मेरो लेखनीबीच सुमधुर सम्बन्ध यसरी स्थापित हुन सकोस् कि पाठकको मस्तिस्कलाई उद्वेलित बनाउन सकोस् । पाठकहरू मेरा सृजनामा यसरी बाँधियून् कि पाठकले आफू बाँधिएको छु भन्ने होसै नपाओस् ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
भर्खर/भर्खर सृजनामा लागेका साहित्यकारले आफ्ना रचना लेखनीलाई निरन्तरता दिने प्रयास गर्नुपर्छ । त्यसले बिस्तारै स्तरीय कृति जन्माउन सघाउँछ । आफूले लेख्ने विधा एवं विषयवस्तुबारे धेरै ज्ञान आवश्यक हुन्छ । मनभित्र कुनै ठूलो महत्वाकांक्षा या रातारात लोकप्रियता या ‘हिरोइज्म’को अपेक्षा नराखेर लेखनलाई निरन्तर साधनारत भएर अभ्यास गर्नु उत्तम हो ।
साहित्यमा कुन विधाका पाठक बढी भएको अनुभव गर्नुहुन्छ ?
जहाँसम्म साहित्यको कुन विधामा धेरै सृजना होलान् भन्ने प्रश्न छ– फुटकर रचनामा पद्यको बाहुल्य छ भन्ने लाग्छ किनभने प्रायः साहित्यमा सुरू/सुरूमा कलम चलाउनेले काव्य विधालाई नै पछ्याउँछन् । मेरो पनि सर्वप्रथम कविताबाट नै साहित्य यात्राको श्रीगणेश भएको हो । तर पुस्तक आकारमा भने आख्यान विधाको संख्या धेरै छ जस्तो लाग्छ ।
किन कोही स्रष्टा दलको झन्डामुनि ओत लाग्ने रहर गर्छन् ?
एउटा साहित्यकारले कुनै राजनीतिक दलको झण्डा मुनि ओत लाग्नुलाई अन्यथा मान्न सकिँदैन । मुख्य कुरा त तपाईंले रचना स्वतन्त्रतापूर्वक लेख्न पाउनुभएको छ कि छैन भन्ने हो । अर्को कुरा तपाईं दललाई प्रयोग गरेर साहित्यमा पहिचान या हैसियत बनाउन लाग्नुभएको छ कि छैन भन्ने हो । आजको समय भाटगिरी साहित्यको समय होइन । सत्ता र स्वार्थ क्रमशः फलाम अनि चुम्बकजस्तै हुन् । प्रतिष्ठित र इमानदार साहित्यकारहरू त्यसबाट टाढै रहन रुचाउँछन् । बरु उनीहरू सत्ता र स्वार्थीविरुद्ध प्रखर भएर कलम चलाउन डराउँदैनन् ।