काठमाडौं, १५ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ ।
‘पार्टीभित्र जनतलाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्तिनै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिनँ,’– उनले भने । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको भनाई छ । सिके राउतको सम्मानस्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।
‘सिके राउतजी मधेशको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो । अहिले फेरि बारा–२ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावनाविपरित सत्ताबिना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौं । त्यसको सामनामात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीमा प्रवेश गरेको छु,’– उनले भने ।
माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए । जनताको भावनाविपरित आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजिएको उनले बताए । उनले आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रहअनुसार जनमत पार्टीमा प्रवेश गरेको स्पष्ट पारे ।
‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावानको कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट बञ्चित गर्न खोजेको थियो, जनताको भावनापनि बञ्चित गरिएको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिएँ तर, सो क्षेत्रका जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस भनेपछि मैले जनताको भावनाअनुरुप जनमत पार्टी रोजें,’– उनले भने ।
साथै, अहिलेको लडाई कुनै क्षेत्रको नभएर विचारको भएको उनको दाबी छ । उनले सबै सञ्चारकर्मीलाई यस लडाईमा साथ र सहयोग गर्नका लागि अपिलसमेत गरेका छन् । ‘यो लडाई कुनै क्षेत्रको होइन, विचारको लडाई हो । उपेन्द्रजी जुन विचार लिएर बारा–२ का जनताको भावनाविपरित आउनुभएको छ । जनताले उहाँलाई हराएर पठाउँछन् । हामी हराउँछौं,’–उनले भने ।
सो कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी जनताको उद्वारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्वारका लागि बनेकोे दाबी गरेका छन् । माओवादीका कारण कुशवाहा पटक–पटक अन्याय र बहिष्करणमा परेको उनको भनाई छ । जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिस्करण र अन्यायमा परेका नेताहरुको सम्मान गर्दै आएको उनले स्मरण गराए ।
कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको भन्दै उनले बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा जितको अग्रिम शुभकामनासमेत दिए । बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको उनको दाबी छ । ‘षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचियो । बारा–२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो । भोट दिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो,’– उनले भने ।
सिट खाली भएर संसद्मा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए । साथै, निर्वाचन आयोगका प्रमुख आयुक्तले महिलाबाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामासमेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनको आरोप छ । उनले बारा–२ मा उपेन्द्र यादवलाई त्यहाँका जनताले बहिस्कार गर्ने दाबी गरे। कुशवाहालाई त्यहाँका जनताले जिताउनेमा कुनै शंका नरहेको उनले बताए । लोकतन्त्रलाई बचाउनका लागि पनि कुशवाहालाई त्यहाँका जनताले जिताउने उनको दाबी छ ।