Logo

तनहुँ– १ मा मेरो जीत सुनिश्चित छ– गोविन्द भट्टराई



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रसका नेता एवं तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचनका प्रस्तावित उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णपछि सञ्चाकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले उक्त निर्वाचन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आधारमा पनि आफूले निर्वाचन जीत्ने सुनिश्चित रहेको बताएका हुन् ।

‘पार्टीले भर्खरै निर्णय गरेर मलाई चितवन क्षेत्र नं– १ को रिक्त स्थानमा उम्मेदवार बनाएको छ । गत निर्वाचनमा पनि अहिलेका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल भारी मतले निर्वाचित भएको ठाउँ हो । अहिले पनि त्यो क्षेत्रमा नेपाली कांग्रेसको जीत सुनिश्चित छ,’– उनले भने ।

अरु नेताहरुले भाषणमात्रै गरेको र आफूले भाषणसहित काम पनि गरेर देखाएको उनको दाबी छ । आफू पदमा रहँदा र नरहँदा पनि जनताको माग सम्बोधन गर्न निरन्तर लागिपरेको उनले स्मरण गरे । देशैभरीका तरुणहरुबाट पनि आफूलाई समर्थन र साथ रहेको उनले बताए ।

‘म विद्यार्थी कालदेखि नै राजनीतिमा छु । म नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सभापति पनि हुँ । अरु त भाषणमात्रै गर्छन । मैले लडेर मागहरु नेतृत्व कालमा पुरा गराएको छु । अर्को कुरा तरुदलको दोस्रो महासचिव पनि हुँ । मलाई देशैभरीका तरुणहरुको समस्या पनि थाहा छ,’– भट्टराईले भने ।

उक्त क्षेत्रमा आफू लामो समयदेखि महिलाहरुलाई डोको नाम्लो मुक्त बनाउने अभियानमा लागेको उनले बताए । सोही अभियान स्वरुप आफ्नो अगुवाईमा ६० भन्दा धेरै खानेपानीका आयोजनाहरु रहेको र धेरै सम्पन्न भइसकेको उनको दाबी छ ।

‘अहिलेसम्म म सरकारी तलब भत्ता खाने पदमा नरहे पनि जनताको काममा निरन्तर लागेको छु । मेरो उक्त क्षेत्रमा अभियान नै छ, महिला दिदी बहिनीहरुलाई डोको नाम्लो मुक्त गराउने । उहाँहरुलाई पानी बोकेर आफ्नो भान्छा चलाउन नपरोस् भनेर म धेरै लामो समयदेखि त्यो अभियानमा लागेको थिए । मेरै पहलमा उक्त क्षेत्रमा ६० भन्दा धेरै खानेपानीका योजनाहरु धेरै सम्पन्न भइसकेका छन् र केही निर्माणधीन अवस्थामा रहेका छन्,’– उनले भने ।

ती काम बाहेक कुलो बनाउने, सडक बनाउने, पुल बनाउने, विद्युतीकरणका कुरा लगायतका काममा उक्त निर्वाचन क्षेत्रमा आफ्नो योगदान रहेको उनको दाबी छ । आफूले गरेको कामको आधारमा त्यहाँका जनताले निर्वाचन जिताउनेमा कुनै आशंका नरहेको उनले बताए ।

तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको जित्ने कुनै आधार नै नभएको उनको दाबी छ । सबै मतदाताको आफू सामूहिक उम्मेदवार भएको उनले बताए ।

‘तनहुँमा विगतको मतको आँकडा हेर्दा पनि घण्टीको जित्ने कुनै आधार छैन । मतदाताका लागि सबै पक्षको समूहिक उम्मेदवार म नै हुँ । अरुले जित्ने भन्ने मैले कुनै सम्भावना नै देखेको छैन,’– भट्टराईले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot