काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्। चैत्र ६ गते सदनबाट दोस्रो पटक विश्वासको मतप्राप्त गरेको १० दिनपछि प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
विश्वासको मतप्राप्त गरेकै दिन ४ दिनभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताएका प्रधानमन्त्री दाहालले गठबन्धन दलहरुभित्र भागबण्डा मिलाउन किचलो हुँदा केही दिन समय कुर्नुपरेको थियो।
बुधबार बसेको गठबन्धन बैठकले मन्त्रालयको संख्या टुङ्ग्याएको थियोभने बिहीबार मन्त्रालयको भागबण्डापनि टुङ्गिएपछि प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन्।
उनले आज राष्ट्रपति कार्यालयलाई मन्त्री नियुक्तका लागि पत्र लेख्दै आजै शपथ खुवाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ।
मन्त्रालय बाँडफाटमा सत्ता गठबन्धनको प्रमखु घटक नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाएको छ। यस्तै, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएको हो।
नेकपा (एकीकृत समाजवादी)ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउँदा नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाएको हो।
बुधबार बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, जसपा र एसलाई २, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र अरुलाई १/१ मन्त्रालय दिने सहमति भएको थियो। सोही अनुरुप बिहीबार मन्त्रालयको भागबण्डा टुङ्गिएको हो।