Logo

ऋषि धमलाको प्रशंसा गर्दै ओलीले भने–‘नेपाली पत्रकारितामा उहाँ आँफैमा एउटा सिंगल पिसको रुपमा रहनुभएको छ, ब्राण्ड हो’



काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देश निकै जटिल अवस्थामा रहेको टिप्पणी गरेका छन् । वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको उनको आरोप छ ।

‘आज देशको अवस्था निकै जटिल छ । अझ बढि गम्भीर, अस्थिर बढेको छ । यसै भन्न सकिने अवस्था छैन् । देशमा अस्थिरता छ । गत मंसिर ४ गते चुनाव भयो । यस विचमा उतारचढाव भए । पुष १० गते एउटा सरकार बन्यो । सरकार परिवर्तन भयो । यथार्थमा सरकार परिवर्तन भयो । तर, सरकारको नेतृत्वकर्ता उही छ ।’–रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै ओलीले भने–‘सरकार परिवर्तन भयो, तर प्रधानमन्त्री उही छ । सरकारको नेतृत्व उही छ । नीति र विचार परिवर्तन भयो । व्यक्ति उही छ । यो अमिताभ बच्चनका बुवा हरिवंश राय बच्चनले एउटा कविता लेख्नुभएको छ–मधुशाला भन्ने ।’

सो अवसरमा अध्यक्ष ओलीले रिपोर्टर्स क्लब नेपालको संघर्षमय २५ वर्ष र यसले देश र जनताको लागि खेलेको भूमिकाको स्मरण गरे । उनले भने–‘प्रारम्भमा ऋषि धमलाजीले रिपोर्टर्स क्लबले आफ्नो संघर्षमय २५ वर्ष पूरा गरेर २६ वर्ष लागेको र महोत्सवको प्रथम दिन भएको कुरा गर्नुभयो । यस अवसरमा रिपोर्टर्स क्लब नेपालले गएका २५ वर्ष र पुर्याएका योगदान, सञ्चार क्षेत्रमा, पत्रकारिताको क्षेत्रमा, जनतालाई आवाजविहीनलाई आवाज दिने सन्दर्भमा, पीडितलाई न्याय दिने, निषेध गरिएको बेला विचार प्रवाह गर्ने बेलामा, विभिन्न ढंगले जनताको सुसुचित हुने अधिकारलाई, मानिसका सामाजिक जीवनका विविध पक्षलाई आफ्नो समस्या र विचार सार्वजनिक गर्ने सन्दर्भमा जुन भूमिका खेलेको छ, त्यसको म प्रशंसा गर्न चाहन्छु । र धन्यवाद भन्न चाहनछु ।’

ओलीले आगामी दिनमा क्लबले अझ गुणस्तरीय र देश र जनताको पक्षमा, भ्रष्टाचारको विपक्षमा, सुसासनको पक्षमा, शान्ति, सुव्यवस्था र कानूनको राजको पक्षमा, स्थिरता र स्थायित्वको पक्षमा अझ बढि योगदा गर्न सकोस भन्ने शुभकामना दिए । उनले थपे–‘जनतालाई सुसुचित हुने अधिकारबाट दिग्भ्रमित पार्ने प्रयासलाई पराजित गर्दै सुसुचित हुने जनअधिकारको रक्षा गर्न सकोस । सञ्चारमाध्यमहरुको बहुआयामिक भूमिका छ । त्यसको भूमिकालाई खासगरेर पत्रकारिताको क्षेत्र आँफैमा भरपर्दो माध्यम । देश र जनताको पक्षमा सत्य समाचार सम्प्रेषण गरेर, गलत सन्देशबाट, भ्रम उत्पन्न हुन नपाओस, भ्रमहरुको निवारण होस भन्नेतर्फ क्लबले आगामी दिनमा अझ बढि ध्यान पुर्याउनेछ ।’

उनले क्लबले नेपालको पत्रकारिताको क्षेत्रमा आफ्नै खालको पहिचान बनाएको पनि उल्लेख गरे । उनले भने,‘सुरु–सुरुमा केही मानिसले यसलाई हाँस्यास्पदपनि ठाने । तर, विस्तारै समयक्रममा क्लबले खेलेको भूमिका र ऋषि धमलाले खेलेको भूमिका, एक ढंगले ब्राण्ड स्थापित गरेको छ । रिपोर्टर्स क्लब मात्रै होईन, ऋषि धमला आँफैमा एउटा सिंगल पिसको रुपमा रहनुभएको छ । पत्रकारिता उहाँको सशक्त छ । कुनै पक्ष कसलाई मन पर्छ वा पर्दैन्, कुनै कुरा कसैको लागि आलोचनाको विषयपनि हुन सक्ला । यसो नभएर यसो भएको भए हुन्थ्यो होला पनि भएको होला, हामीले समग्रतामा हेर्दा ऋषि धमलाले निर्भिक र समायानुकुल पत्रकारिता गर्दै आएको कुरा पाउँछौं । रिपोर्टर्स क्लबको माध्यमबाट ऋषि धमलाले मारेको छलाङ नै असाधारण छ । अहिले विभिन्न माध्यम रेडियो, टिभी, अनलाईन यसको प्रभाव बढेको छ ।’

उनले क्लबले विगत २५ वर्षमा जुन महत्वपूर्ण भूमिका खेलेको त्यो अझै बढोत्तरी हुँदै जाओस भन्ने शुभकामना दिए । उनले भने,‘क्लबले खेलेको भूमिकाले राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पारेको छ । आगामी दिनमा क्लबलाई ठूला–ठूला सफलता मिल्दै जाओस भन्ने शुभकामना छ ।’

 



प्रतिक्रिया दिनुहोस्