Logo

अहिले आम जनतामा असन्तुष्टिको आगो सल्किरहेको छ, सरकारसामू धेरै चूनौति छ : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले रिपोर्टर्स क्लब नेपालले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । क्लब स्थापना भैरहँदा देशमा विभिन्न ढंगले निरंकुशकरणको प्रक्रिया जारी रहेको र लोकतन्त्र खतरामा परेको स्मरण गराउँदै क्लबले निरंकुश तानाशाहको विरुद्धमा आवाज उठाउने काम गरेको खनालको भनाई छ । १९ माघपछि मुलुकलाई प्रतिगमनतर्फ लैजान खोज्दापनि क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित राष्ट्रिय सभागृहको विशेष समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् । मिडियाको माध्यमबाट क्लबले ०६२/०६३ को जनक्रान्तिलाई वाहन गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको र संविधान निर्माणको १० वर्षको अवधिमा पनि क्लबले खेलेको भूमिका उच्च प्रशंसनीय रहेको खनालको भनाई छ । संविधान निर्माण गर्ने अवधारणमा क्लबले ठूलो योगदान गरेको भन्दै खनालले यसको नेतृत्वकर्ता ऋषि धमलालाई धन्यवाद दिए । उनले मुलुक अहिले चूनौतिपूर्ण घडीमा रहेको सुनाए । उनले विश्व राजनीतिमा पनि संकट पैदा भएको सुनाए । उनले युक्रेनको घट्नामा विश्वले र नेपालजस्तो देशले पनि शिक्षा लिनुपर्नेमा जोड दिए । उनले नेपालले सन्तुलित परराष्ट्र नीति लिनुपर्ने सुझाव दिए । उनले संविधान निर्माणपछिको युगमा प्रवेश गरेपछि समृद्ध मुलुक बनाउनको लागि बुद्धिमता देखाउनुपर्नेमा ठूला दलले त्यो काम गर्न नसकेको बताए । उनले अहिले चारैतिर संकट मडारिएको बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित उक्त समारोहमा बोल्दै नेता खनालले आर्थिक क्षेत्रमा अवस्था भयावह रहेको बताए । उनले राजनीतिक रुपमा हेर्दापनि कसैको बहुमत नभएको र त्रिशंकु संसद् रहेको उल्लेख गर्दै एउटा सरकार बनाउनपनि कठिनाई रहेको सुनाए । उनले अहिलेको वर्तमान सरकारसाम धेरै चूनौति रहेको बताए । उनले अहिले आम जनतामा असन्तुष्टिको आगो सल्किरहेको बताए । रिपोर्टर्स क्लब नेपालले जुन हिसाबले जनतालाई सुसुचित गर्दै आएको छ त्यसमा अझै बढोत्तरी भूमिका निर्वाह गर्न सुझाव दिए । उनले मुलुकमा देखिएका समस्याका समाधानमूलक बाटो देखाउनपनि क्लबलाई सुझाव दिए । उनले क्लबले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न, राष्ट्रियतालाई सुदृढ गर्न अझ प्रभावकारी भूमिका खेल्न सक्नुपर्ने शुभकामना दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot