काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो ।
जननेता मदन भण्डारीको नामबाट स्थापित एक लाख राशिको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा पत्रकार पौडेल विगत तीन दशकयता निरन्तर सक्रिय छन् । प्रिन्ट, अनलाइन र टेलिभिजन मिडियामार्फत अभूतपूर्व क्षमता देखाएर दूरदराजका गाउँसम्मका नागरिकलाई सुसूचित गराउन भूमिका खेल्दै आउएकाले क्लबले सो पुरस्कार प्रदान गरेको जनाएको छ ।
यस्तै, नेपालको आर्थिक क्षेत्रको सम्मानित ब्यक्तित्व स्वर्गिय तेजेन्द्र खड्का र सुन्तली खड्काको नामबाट स्थापित तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट आर्थिक अभियान राष्ट्रिय दैनिक एवम् न्यू विजनेश एज (मासिक) का प्रधान सम्पादक मदन लम्साललाई प्रदान गरिएको छ ।
नेपालको आर्थिक र व्यवसायिक पत्रकारिताको क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहेका लम्सालले छापा र अनलाइन मिडियामार्फत अभूतपूर्व क्षमता देखाएर दूरदराजका गाउँसम्मका नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सो क्रममा पत्रकार लम्सालले उक्त पुरस्कारबाट प्राप्त राशि एक लाख रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् । सभामुख देवराज घिमिरेमार्फत आविष्कार केन्द्रका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हरि सिलवालको हातमा प्रदान गरिएको हो ।
यस्तै, क्लबले शहीद जगतप्रकाशजंग शाहको स्मृतिमा स्थापित २५ हजार रुपैया राशीको शहीद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका अन्तर्राष्ट्रिय शाखाका प्रमुख शरदचन्द्र भण्डारीलाई दिईएको छ ।
उक्त पुरस्कारबाट पुरस्कृत पत्रकार भण्डारी नेपालको पत्रकारिता क्षेत्रमा विगत दुई दशकयता निरन्तर रूपमा सक्रिय छन् । निर्भीक,परिश्रमी, क्षमतावान्, दक्ष, कुशल पत्रकारका रूपमा परिचय स्थापित गर्न सफल भएका भण्डारीले पत्रकारको हकहितका लागि पुर्याएको योगदानको पनि क्लबले प्रशंसा गरेको छ ।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषिराज धमलाको स्वर्गीय माता–पिताको नामबाट स्थापित पुरस्कार कुलप्रसाद÷चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्लेदललाई प्रदान गरिएको छ । सिग्देलले विगत डेढ दशक लामो समयदेखि नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रहेर जनतालाई सुसूचित गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले त्यसको उच्च कदर समेत गरेको छ । सो पुरस्कारको राशि ४० हजार रुपैया रहेको छ ।
यस्तै, क्लबले स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको नामबाट स्थापित २५ हजार रुपैया राशीको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष बरिष्ठ पत्रकार लक्ष्मी पुनलाई प्रदान गरेको छ। पुन द वाकर अनलाईन डटकमकी सम्पादक हुन् ।
पुन नेपालको पत्रकारितामा विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रूपमा छिन् । बहुदलदेखि गणतन्त्रकालसम्म पुनको कलम अविरल चलिरहेको र मोफसलको अलावा र मूलधारको पत्रकारितासम्म आइपुग्दा सधैं पत्रकारिताप्रति समर्पित भएको क्लबले उल्लेख गरेको छ । यस्तै, पुनले पत्रकारको हकहितका लागि संघर्षमा समेत होमिएर नेतृत्वदायी भूमिका निभाएको भन्दै क्लबले प्रंशसा गरेकोछ ।
त्यस्तै, क्लबले स्वर्गीय फोटोपत्रकार बाबुछिरीको नामबाट स्थापित २५ हजार रुपैया राशीको बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कारबाट यसवर्ष फोटो पत्रकार प्रदिपराज वन्तलाई सम्मान गरेको छ। वन्त राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार हुन् । उनले विगत डेढ दशक लामो समयदेखि नेपालको फोटो पत्रकारिता क्षेत्रमा सक्रिय रहेर जनतालाई सुसूचित गराएका छन् ।
यस्तै, क्लबले स्वर्गीय पत्रकार उमा सिंहको स्मृतिमा स्थापित २५ हजार रुपैयाँ राशीको उमा सिंह स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार फूलमाया आलेलाई सम्मान गरेको छ। आले सरोकार टेलिभजनकी सम्पादक हुन् । उनले विगत एक दशक लामो समयदेखि नेपालको टेलिभिजन पत्रकारिता क्षेत्रमा सक्रिय रहेर जनतालाई सुसूचित गराएकी छिन् ।
यस्तै, क्लबले उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार–२०७९ बाट राजन काफ्लेलाई सम्मान गरेको छ। यस्तै, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९ बाट न्यूज एजेन्सी नेपालका सिनियर क्यामेरा पर्सन सुरज प्रधानलाई सम्मानित गरिएको छ ।
यसैगरि क्लबले उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार–२०७९ बाट प्राइम टिभीका प्रस्तोता धिरज बस्नेतलाई सम्मान गरेको छ भने उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार–२०७९ बाट ईकागज डटकमका डेस्क कोअर्डिनेटर जीवन कुँवरलाई सम्मानित गरेको छ।
यस्तै, टिभी अन्नपूर्णका कार्यकारी निर्देशक राजु सुवेदीलार्य उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरिएको छ । क्लबले यो वर्षको क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट नेपाली रेडियो नेटवर्ककी रिपोर्टर गोमा परियारलाई सम्मान गरिएको छ । यस्तै, प्राइम टिभीका ऋषि थपलियालाई सक्रिय युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरिएको छ ।
त्यस्तै, सुनौलो नेपालका सम्पादक मोहराज शर्मालाई युवा पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित गरिएको छ । यस्तै, कपुरबोट मिडियाका कार्यकारी सम्पादक विप्लव काफ्ले पनि उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित भएका छन् ।
यस्तै, क्लबले अनलाइन टिभि नेपालका सम्पादक नविन गिरीलाई क्रियाशिल युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित भएका छन् ।
यस्तै, हिमालयन टेलिभ्वाईसका क्यामेरा पर्सन कृष्ण श्रेष्ठलाई क्रियाशिल युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरिएको छ । यस्तै, नेपालीपन साप्ताहिकका सम्पादक तथा प्रकाशक सुनिलकुमार साहलाई युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरिएको छ ।