Logo

प्रचण्डले गठबन्धनलाई पाँच वर्ष सम्हाल्नुहुन्छः माओवादी नेता



काठमाडौं, १८ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा गठबन्धनका दलहरुलाई समेटेर लैजान सफल हुने विश्वास व्यक्त गरेका छन् ।
‘गठबन्धनमा धेरै दल छन् । सबैको चित्त प्रसन्न हुने गरी काम गर्न प्रधानमन्त्री तत्पर हुनुहुन्छ । सबैजसो दलमा सानातिना समस्या छन् । आकांक्षी साथीहरुको व्यवस्थापन हुँदै जान्छ । प्रचण्ड सक्षम नेतृत्व हो । उहाँले मिलाउनुहुन्छ । त्यसका लागि नै केही मन्त्रालय खाली राखिएको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै शर्माले भने ।
माओवादी नेता शर्माले अब सरकार सेवा प्रवाह, सुशासन र समृद्धिको दिशामा अघि बढ्ने पनि बताए । उनले भने, ‘अहिले मन्त्री बनेका सबै एकसे एक अनुभवी र सक्षम नेताहरु हुनुहुन्छ । सबै जना राष्ट्रका लागि परिणाम दिन सक्षम हुनुहुन्छ ।’
उनले वर्तमान गठबन्धन सरकार पाँच वर्ष टिक्ने दाबी पनि गरे । उनले भने, ‘गठबन्धनलाई टुटाउने प्रयत्न होला तर यसलाई पाँच वर्ष टिकाउनुपर्छ । कुनै पनि दल सानोतिनो स्वार्थले उछिट्टिनुहुँदैन । प्रतिपक्ष पनि सरकार ढाल्ने दिशातिर भन्दा पनि सरकारको निगरानी र खबरदारीमा लाग्नुपर्छ । देशलाई निकास नदिने, अस्थिरताको खेलमा लाग्नुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot