Logo

कांग्रेस नेता भन्छन्– २००७ सालदेखि १८०० मन्त्री भए, सम्झने मन्त्री कति छन् ?



काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले पार्टीभित्र मन्त्रीका निम्ति झगडा गर्न नहुने औंल्याएका छन् ।
‘टुटेर गएको गठबन्धन धेरै मिहिनेतपछि फिर्ता आएको छ । कांग्रेसले राष्ट्रपति पाएको छ । केही थान मन्त्री पनि प्राप्त भएको छ । त्यसैले अहिले मन्त्रीका लागि झगडा गर्नुहुँदैन । मैले मन्त्री पाइनँ भने खबरदार वा यतिवटा मन्त्रालय चाहिन्छ भनेर भन्ने स्थितिको अब अन्त्य गर्नुपर्छ । यसले लोकतान्त्रिक पद्धति असफल बनाउन पाए हुन्थ्यो भन्ने शक्तिलाई नै मलजल गर्नेछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।
पार्टीका नेताहरुलाई शेरबहादुर देउवा वा शेखर कोइरालाको ‘ट्याग’ लगाउन नहुने पनि खतिवडाले बताए । उनले भने, ‘अब पार्टी सभापति, उपसभापति, शेखर कोइराला लगायतका सबै नेताहरु बसेर लजिकल इन्डमा पुर्याउनुपर्छ । आखिर जाने पार्टीकै साथी हो । अब शेरबहादुर र शेखरको ट्याग लगाउन छाड्नुपर्छ । यो वा त्यो गुटको नामा राम्रा मान्छेलाई निमोठ्नुहुँदैन । सत्ताका लागि कांग्रेस झगडा गर्छ भन्ने सन्देश बाहिर जानुहुँदैन ।’
पार्टी सन्तुलन कायम राखेर क्षमता र योग्यताका आधारमा निर्णय गर्ने परिपाटी आवश्यक रहेको पनि उनले औंल्याए । खतिवडाले भने, ‘पार्टीका दुइटै उपसभापति सरकारमा जाने हुनुभो । रमेश रिजाल २०४८ सालदेखिकै सांसद हो । अब सपना बाँड्नेबाट सतर्क भएर यथार्थको धरातलमा जाऊँ । २००७ सालदेखि १८ सय जना मन्त्री भए । पजेरो र घरको व्यवस्था गरेर मात्र फर्किनेलाई कसैले सम्झँदैन ।’
स्वर्णिम वाग्लेको बहिर्गमन हतारोमा भएको टिप्पणी पनि उनले गरे । खतिवडाले भने, ‘स्वर्णिमजीको योग्यता, क्षमता र बौद्धिकताको म प्रशंसक नै हुँ । कांग्रेसमा उहाँको आगमन सुखद नै थियो । योजना आयोगको सदस्य र उपाध्यक्ष हुनुभयो । कसैसँग रिसइबी भए पनि उहाँले पार्टी छाड्न अलिकता हतार गर्नुभयो ।’ चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईको विजय निश्चित भएको पनि उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot