काठमाडौं, चैत १९। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नौ दलीय जम्बो गठबन्धन सरकारमा पुरानै नेताहरूलाई प्रथमिकता दिइएको छ ।
शुक्रबार मन्त्रिपरिषद् विस्तारका क्रममा बनेका १० मन्त्रीमध्ये अधिकांश नेताहरू पटकपटक मन्त्री भइसकेकाहरू छन् । २०५४÷५५ सालदेखि अहिलेसम्म ६–७ पटकसम्म मन्त्री भएकाहरूले नै यसपटक पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यो मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका छन् भने उनका मन्त्रीहरूमा दशौं पटकसम्म मन्त्री भएका पनि परेका छन् ।
उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले २०५५ सालपछि पटक–पटक गरी ७ पटक गृहसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै, अर्थमन्त्री डा प्रकाशशरण महत २०६६ सालदेखि हालसम्म चारपटक मन्त्री बनिसकेका छन् भने कांग्रेसको कोटाबाट मन्त्री बनेका सीता गुरुङ एकपटक राज्यमन्त्री भएर अहिले मन्त्रीमा पदोन्नति भएका छन् । रमेश रिजाललाई भने कांग्रेसले पहिलोपटक सरकारमा पठाएको हो ।
त्यस्तै, माओवादी केन्द्रबाट मन्त्री हुनेहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा पनि तीन÷चार पटक मन्त्री भइसकेका पुरानै अनुहार हुन् । अशोक राई, शरतसिंह भण्डारी, महेन्द्रराय यादव पनि पटक पटक मन्त्री भइसकेका छन् ।
खाली रहेको १६ मध्ये १० मन्त्रालयले शुक्रबारबाट नेतृत्व पाएसँगै १७ सदस्य मन्त्रीमण्डल गठन भएको छ । अझै ६ वटा मन्त्रालय प्रधानमन्त्री मातहत छन् । संसद्को सबैभन्दा ठूलो एवं सत्ता साझेदार दल नेपाली कांग्रेसले भागबण्डाको आन्तरिक किचलोको कारण ८ मन्त्रालय पाएकोमा शुक्रबार चार जानलाई मात्रै मन्त्रिपरिषद्मा पठाएको छ ।
बाँकी चार जनाका विषयमा अझै टुंगो लागि नसकेको जानकारी दिँदै कांग्रेसका सहमहामन्त्री जीवन परियारले भने– ‘यसपटक मन्त्रिपरिषद्मा नागरिकलाई सर्भिस डेलिभरी दिन सक्ने नयाँ नेताहरूलाई पठाउनुपर्ने अधिकांश नेताहरूको भनाइ हो । नयाँ र पुराना नेताहरूलाई पठाउँदा सरकारको प्रभावकारिता बढ्थ्यो । तर, हाम्रोले मात्रै होइन, सबै दलहरूले पुरानैलाई प्रथमिकता दिएको पाइयो ।’ नेपाल समाचारपत्र दैनिकबाट