काठमाडौ, चैत १९ । चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचनमा रविलामिछाने विरुद्व शम्भु थापाले उम्मेदवारी दिने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको समितिका चितवन संयोजकरहेका थापाले आज दिउँसो रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्न लागेका छन् ।
गत मंसीर ४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो।
अहिले रिक्त रहेको चितवन २ को प्रतिनिधि सभा सदस्यमा लड्न नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपानेले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै रास्वपाबाट रवि लामिछाने उम्मेदवार बन्दैछन् ।
निर्वाचन आयोगका अनुसार चितवन २ मा हुने उपनिर्वाचनका लागि भोली चैत २० गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
सार्वजनिक कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र चैत २२ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने छ।
यस्तै, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।