Logo

स्वर्णिम वाग्लेलाई हराउने जिम्मा गगन थापाको काँधमा, हानिए तनहुँ



काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र सुरुवातदेखि नै कुशल रणनीतिकारको रुपमा परिचित छन् । उनी जस्तोसुकै अप्ठ्यारोसँगपनि जुँध्नसक्ने साहस राख्छन् । पार्टीमा उनी पूर्ण रुपमा बहुमतमा छन् । अहिले मुलुक उपनिर्वाचनको तयारीमा होमिएको छ । बैशाख १० गते हुने चितवन–२, तनहुँ–१ र बारा–२ को उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसको लागि दलहरुले आन्तरिक तयारी पूरा गरेका छन् । कांग्रेसले भने यसपटक बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

चितवन–२ र तनहुँ–१ मा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । रोचक त के छ भने कांग्रेसले यसपटक चितवन र तनहुँ दुवै क्षेत्रका उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपासँग प्रतिष्पर्धा गर्दैछ । चितवन–२ मा सभापति लामिछाने स्वयम उम्मेदवार छन् भने तनहुँ–१ मा भने हालै कांग्रेस परित्याग गरेका डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसमा हुँदा स्वर्णिमले आफूलाई सभापति देउवा र उनकी पत्नी डा. आरजु राणाले सधैं हेपेको र पेलेको भन्ने गम्भीर आरोप लगाएका छन् । उनी कांग्रेसमा महामन्त्री गगनकुमार थापाका घनिष्ठ मित्र थिए । गगनले गत मंसिरमा भएको निर्वाचनमा उनै स्वर्णिमलाई काठमाडौं–४ बाट चुनाव उठाउन चाहेका थिए । तर, सभापति देउवाकै कारण उनको योजना सफल भएन । गगन र स्वर्णिमको सम्बन्धबारे राम्रो जानकार रहेका देउवाले यसपटक उनीहरुको सम्बन्धमा फाटो ल्याउनेगरि कदम चालेका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत तनहुँ–१ को निर्वाचनको कमाण्डर महामन्त्री थापालाई बनाएका छन् । थापा पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनको लागि तनुहँ हानिएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई भने चितवन–२ खटाईएको छ । सभापति देउवाले थापाको काँधमा स्वर्णिमलाई हराउने जिम्मेवारी थोपरिदिएका छन् ।

अब गगनले स्वर्णिमलाई कुनैपनि हालतमा हराउनुपर्ने टास्क पाएका छन् । कांग्रेसका उम्मेदवार भट्टराई पार्टीभित्र लामो समयदेखि संघर्ष गर्दै आएका नेता हुन् । उनी नेपाल विद्यार्थी संघको सभापति भैसकेका व्यक्ति हुन् । उपनिर्वाचनमा उनले पार्टीबाट टिकट पाउँदा नै नेता तथा कार्यकर्ताहरुमा व्यापक खुशियाली छाएको छ ।

तर, महामन्त्री थापा भने यतिवेला बिलखबन्दमा परेका छन् । उनले स्वर्णिमलाई पार्टीमै राख्न नसकेकोमा पछिल्लो समय पछुतो मान्ने गरेका छन् । अहिले उनै स्वर्णिमलाई चुनाव हराउने जिम्मा पाउनु उनको लागि जीवनकै पीडादायक अवस्था सिर्जना भएको चर्चा सुरु भएको छ ।

FILE Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot